सुनसरी घटनापछि जिम्मेवार पत्रकारिता अपनाउन प्रेस काउन्सिलको आग्रह

348
shares

 

काठमाडौं । प्रेस काउन्सिल नेपालले सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि देशका विभिन्न भागमा देखिएको तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।

 

शुक्रबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा तथ्य, मानवीय संवेदनशीलता, धार्मिक तथा सामाजिक सद्भाव र सार्वजनिक हितलाई प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। अपुष्ट, भ्रामक वा उत्तेजक सामग्रीले समाजमा हिंसा, त्रास, द्वेष र भ्रम फैलाउन सक्ने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारणमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।

 

काउन्सिलले अधिकांश सञ्चारमाध्यमले संयमित पत्रकारिताको अभ्यास गरेको र आचारसंहिताविपरीत सामग्री हटाउन दिएको निर्देशन पालना गरेको भन्दै धन्यवादसमेत दिएको छ। साथै कुनै पनि सामग्री प्रकाशन वा साझा गर्नुअघि त्यसको सत्यता पुष्टि गर्न तथा धार्मिक, जातीय वा सांप्रदायिक सद्भावमा असर पुग्ने सामग्री सम्प्रेषण नगर्न पुनः आग्रह गरेको छ।

 

काउन्सिलका अनुसार हालसम्म २०७ वटा सामग्रीको अनुगमन गरिएकोमा आचारसंहिता विपरीत देखिएका ९० वटा सामग्रीमध्ये ३४ सञ्चारमाध्यमका ५९ वटा सामग्री र दर्ता नभएका दुई सामाजिक सञ्जालका दुई सामग्री हटाउन निर्देशन दिइएको थियो। तीमध्ये ३१ सञ्चारमाध्यम र दर्ता नभएका दुई सामाजिक सञ्जालले निर्देशन पालना गर्दै सामग्री हटाएका छन्।

 

त्यस्तै सञ्चारमाध्यमसँग आबद्ध नरहेका २० सामाजिक सञ्जालमध्ये १८ वटा सामाजिक सञ्जालका २५ वटा गम्भीर प्रकृतिका सामग्रीमाथि अनुसन्धान तथा कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरिएको छ भने चार सञ्चारमाध्यमलाई पुनः निर्देशन दिइएको काउन्सिलले जनाएको छ।

 

 

 

अनुगमनका क्रममा केही सामाजिक सञ्जाल सञ्चालकले धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर पार्ने सामग्री हटाउन आग्रह गर्दा पनि आर्थिक लाभ (मोनिटाइजेसन) भइरहेकाले हटाउन अस्वीकार गरेको पाइएको भन्दै काउन्सिलले त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। यस्ता सामग्री र सम्बन्धित सामाजिक सञ्जाल खातामाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि साइबर ब्युरोसहित सम्बन्धित निकायसँग समन्वय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

 

प्रेस काउन्सिलले सत्य र जिम्मेवार सूचनाले समाजमा शान्ति कायम गर्न सहयोग गर्ने तथा अपुष्ट र उत्तेजक सामग्रीले सामाजिक अस्थिरता बढाउन सक्ने उल्लेख गर्दै वर्तमान संवेदनशील अवस्थामा सबै पक्षलाई संयम, जिम्मेवारी र मानवीय संवेदनशीलता अपनाउन आग्रह गरेको छ।

civil hospital
Hams Hospitals