क्यान महासंघको अपिल : हिंसा अन्त्य गरी सामाजिक सद्भाव र सहज व्यावसायिक वातावरण कायम गर्न आग्रह
वि.सं.२०८३ साउन १६ शनिवार
shares
काठमाडौं । पूर्वी नेपाल तथा तराईका विभिन्न क्षेत्रमा पछिल्लो समय देखिएको अशान्तिपूर्ण वातावरण, हिंसात्मक गतिविधि तथा त्यसबाट सर्वसाधारण नागरिक र उद्योगी–व्यवसायीहरूले भोग्नुपरेको असहज परिस्थितिप्रति कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
क्यान महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली समाजको विविधताभित्रको एकता, जातीय तथा धार्मिक सहिष्णुता, आपसी सद्भाव र भाइचारा राष्ट्रिय शक्तिको आधार भएको उल्लेख गरेको छ ।
लोकतान्त्रिक व्यवस्थामा आफ्ना माग र असहमति शान्तिपूर्ण माध्यमबाट राख्न पाउने संवैधानिक अधिकार भए पनि हिंसा, तोडफोड, आगजनी तथा सामाजिक सद्भाव खल्बल्याउने गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने महासंघको भनाइ छ ।
यस्ता घटनाले नागरिकको जिउधनको सुरक्षामा जोखिम बढाउनुका साथै सूचना प्रविधि क्षेत्र, उद्योग–व्यवसाय, लगानी वातावरण तथा समग्र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पार्ने क्यान महासंघले जनाएको छ ।
महासंघले सम्बन्धित सबै पक्षलाई संयमता अपनाउँदै हिंसा र अशान्तिको बाटो त्याग्न तथा लोकतान्त्रिक प्रक्रिया, संवाद र आपसी समझदारीमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ ।
त्यस्तै, नेपाल सरकार तथा गृह प्रशासनलाई नागरिकको सुरक्षा, निजी तथा सार्वजनिक सम्पत्तिको संरक्षण र सामान्य जनजीवनसहित व्यावसायिक वातावरणलाई यथाशीघ्र सहज बनाउन क्यान महासंघले आग्रह गरेको छ ।
क्यान महासंघले राजनीतिक दल, नागरिक समाज, व्यवसायी, पेशाकर्मी, युवा तथा सञ्चारकर्मीहरूलाई सामाजिक, जातीय तथा धार्मिक सद्भाव कायम राख्न सकारात्मक भूमिका निर्वाह गर्न समेत अपिल गरेको छ ।
“देशमा स्थायी शान्ति, कानुनी शासन र अनुकूल व्यावसायिक वातावरण निर्माणका लागि क्यान महासंघ सदैव प्रतिबद्ध रहनेछ,” विज्ञप्तिमा उल्लेख छ ।





























