फेरि महँगियो पेट्रोल–डिजेल, जनताको ढाड सेक्ने आयल निगमको अर्को झट्का!

384
shares

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य पुनः बढाएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएपछि इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार नयाँ खुद्रा मूल्य २०८३ साउन १८ गते बिहान १२:०१ बजेदेखि लागू हुनेछ। नयाँ दरअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ। पहिलो वर्गका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ र तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको छ।

त्यसैगरी, डिजेल तथा मट्टितेलको मूल्य पनि प्रतिलिटर ३ रुपैयाँले बढाइएको छ। पहिलो वर्गमा १७१ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १९९ रुपैयाँ तथा तेस्रो वर्गमा २०० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।

हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर २४९ रुपैयाँ निर्धारण गरिएको छ। अन्तर्राष्ट्रिय उडानतर्फ भने काठमाडौंका लागि प्रतिकिलोलिटर १,९६७ अमेरिकी डलर, पोखराका लागि १,९२३ अमेरिकी डलर र भैरहवाका लागि १,९२२ अमेरिकी डलर कायम गरिएको छ। एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।

निगमका अनुसार जुलाई ३१ मा इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ११ पैसा, डिजेलमा ३ रुपैयाँ ६७ पैसा तथा हवाई इन्धनमा उल्लेख्य वृद्धि भएको थियो। उपभोक्तामाथि थप आर्थिक भार नपरोस् भन्ने उद्देश्यले वास्तविक लागतभन्दा कम मात्रामा मूल्य समायोजन गरिएको निगमको भनाइ छ।

मूल्य समायोजनपछि पनि निगमले मासिक करिब १ अर्ब ४८ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने अनुमान गरेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अझै बढ्दो क्रममा रहेकाले आगामी दिनमा थप दबाब पर्न सक्ने जनाउँदै निगमले उपभोक्तालाई पेट्रोलियम पदार्थको मितव्ययी र आवश्यकताअनुसार मात्र प्रयोग गर्न आग्रह गरेको छ।

civil hospital
Hams Hospitals