Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

विश्व आदिवासी दिवसमा आङदेम्बेको शुभकामना, संघीयता र समावेशिताको पक्षमा प्रतिबद्धता

138
shares

 

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले ३२औँ विश्व आदिवासी दिवसका अवसरमा नेपाल तथा विश्वभर रहेका आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

आइतबार शुभकामना सन्देश जारी गर्दै उनले आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति तथा अधिकारका लागि भएका संघर्ष, त्याग र बलिदानको स्मरण गरेका छन् ।

नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पु¥याएको योगदान अविस्मरणीय रहेको उनको भनाइ छ । आङदेम्बेले नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय, पहिचान तथा सांस्कृतिक अधिकारलाई संस्थागत गरेको उल्लेख गर्दै यी उपलब्धि कुनै दया वा कृपाबाट नभई जनताको लामो संघर्षको परिणामस्वरूप प्राप्त भएको बताएका छन् ।

उनले सरकारका पछिल्ला गतिविधि तथा अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ उन्मुख भएको महसुस गरेको उल्लेख गरेका छन् ।

संविधानमा रहेका कमजोरी सुधार गर्न र देखिएका समस्या समाधान गर्न सकिने भन्दै उनले संविधान संशोधन तथा परिमार्जनमार्फत संवैधानिक अभ्यासका क्रममा देखिएका त्रुटिहरू सच्याउन सकिने बताएका छन् । तर जनताको संघर्षबाट प्राप्त उपलब्धिहरू नै समाप्त गर्ने प्रयास भने स्वीकार्य नहुने उनको स्पष्ट धारणा छ ।

आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै उनले राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्न आवश्यक रहेको बताएका छन् ।

विश्व आदिवासी दिवसका अवसरमा आङदेम्बेले समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

civil hospital
Hams Hospitals