Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नयाँ टाटा पन्च ईभी नेपाल आइपुग्यो, ४६८ किलोमिटरसम्म रेन्ज र ६५ किलोवाट फास्ट चार्जिङ

723
shares

काठमाडौं । बहुप्रतिक्षित नयाँ टाटा पन्च ईभी नेपाल आइपुगेको छ। टाटाको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ का लागि नयाँ पन्च ईभी नेपाल ल्याएको हो।

टाटा पन्च नेपाली बजारका लागि नयाँ नाम होइन। सिप्रदीले यसअघि पनि पन्च ईभीको उल्लेखनीय बिक्री गर्दै आएको छ। यसपटक भने कम्पनीले लामो दूरीको यात्रा गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ठूलो ब्याट्री क्षमता, बढी रेन्ज, छिटो चार्जिङ र थप प्रिमियम फिचरसहित फेसलिफ्ट संस्करण ल्याएको हो।

नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवर गरी दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। अघिल्लो संस्करणमा २५ किलोवाट आवर र ३५ किलोवाट आवरका ब्याट्री प्रयोग भएका थिए। नयाँ संस्करणमा दुवै भेरिएन्टको ब्याट्री क्षमता ५ किलोवाट आवरले बढाइएको छ।

ब्याट्री क्षमता बढेसँगै गाडीको ड्राइभिङ रेन्जमा समेत उल्लेख्य सुधार गरिएको कम्पनीको दाबी छ। ३० किलोवाट आवर ब्याट्री भएको भेरिएन्टले एकपटक पूर्ण चार्जमा ३७५ किलोमिटर र ४० किलोवाट आवरको भेरिएन्टले ४६८ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ।

६५ किलोवाटको डीसी फास्ट चार्जिङ

नयाँ पन्च ईभीमा ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। कम्पनीका अनुसार ६५ किलोवाटको डीसी फास्ट चार्जरबाट दुवै भेरिएन्टको ब्याट्रीलाई २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्छ।

त्यस्तै, १५ मिनेटको डीसी फास्ट चार्जिङबाट ३० किलोवाट आवर भेरिएन्टमा करिब ११० किलोमिटर र ४० किलोवाट आवर भेरिएन्टमा करिब १३५ किलोमिटर यात्रा गर्न पुग्ने ऊर्जा थप्न सकिने कम्पनीको दाबी छ।

७.२ किलोवाटको एसी चार्जर प्रयोग गर्दा ३० किलोवाट आवर भेरिएन्टलाई १० प्रतिशतबाट पूर्ण चार्ज गर्न करिब साढे ४ घण्टा र ४० किलोवाट आवर भेरिएन्टलाई करिब ५.३ घण्टा लाग्ने बताइएको छ।

गाडीमा जडान गरिएको इलेक्ट्रिक मोटरले १२९ एचपी पावर तथा १५४ एनएम टर्क उत्पादन गर्छ।

नयाँ डिजाइनमा अझ प्रिमियम लुक

फेसलिफ्ट पन्च ईभीको बाहिरी डिजाइनमा समेत विभिन्न परिवर्तन गरिएको छ। गाडीमा क्लोज्ड फ्रन्ट ग्रिल, नयाँ एलईडी लाइटिङ सिग्नेचर, पुनः डिजाइन गरिएको रियर लाइट, आकर्षक बडी लाइन तथा टाटाका ठूला विद्युतीय एसयूभीबाट प्रेरित १६ इन्च एरो–अप्टिमाइज्ड अलोय ह्विल प्रयोग गरिएको छ।

नयाँ डिजाइनले पन्च ईभीलाई अघिल्लो संस्करणको तुलनामा अझ आधुनिक र प्रिमियम एसयूभीको स्वरूप दिएको छ।

इन्टेरियरमा भने अघिल्लो डिजाइनको मूल स्वरूपलाई निरन्तरता दिँदै नयाँ ट्रिम फिनिस, अपडेटेड डुअल–टोन कलर थिम र गुणस्तरीय सामग्री प्रयोग गरिएको छ।

ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ। इन्फोटेनमेन्ट प्रणालीले एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट गर्छ।

मोबाइल चार्जिङका लागि ६५ वाट यूएसबी टाइप–सी फास्ट चार्जिङ पोर्ट समेत दिइएको छ। भेरिएन्टअनुसार वायरलेस फोन चार्जर, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरालगायतका सुविधा उपलब्ध हुनेछन्।

१२ प्रकारका ड्राइभिङ सेटअप

नयाँ पन्च ईभीमा मल्टिमोड रिजेनेरेटिभ ब्रेकिङ, प्याडल सिफ्टर तथा तीनवटा ड्राइभ मोडको संयोजन गरिएको छ। यी सुविधाको संयोजनबाट चालकले १२ प्रकारका ड्राइभिङ सेटअप प्रयोग गर्न सक्ने कम्पनीको दाबी छ।

यसले सहरी ट्राफिकमा दैनिक आवतजावतदेखि लामो दूरीको यात्रासम्म चालकलाई आवश्यकता र सडकको अवस्थाअनुसार ड्राइभिङ अनुभव छनोट गर्ने सुविधा दिनेछ।

सुरक्षामा पनि विशेष प्राथमिकता

सुरक्षाका दृष्टिले पनि नयाँ पन्च ईभीमा विभिन्न आधुनिक प्रविधि समावेश गरिएको छ। कम्पनीका अनुसार गाडी ५ स्टार सुरक्षा रेटिङ प्राप्त प्लेटफर्ममा आधारित छ।

यसमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ESC), एबीएस, ईबीडी, हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (TPMS), ISOFIX चाइल्ड सिट माउन्ट तथा हाई–बिम असिस्ट जस्ता सुरक्षा सुविधा उपलब्ध छन्।

१९५ एमएम ग्राउन्ड क्लियरेन्स

नयाँ पन्च ईभीमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसका कारण काठमाडौंका साँघुरा तथा असमान सडकदेखि ग्रामीण क्षेत्रका उबडखाबड सडकसम्म गाडी सञ्चालन गर्न सहज हुने कम्पनीको विश्वास छ।

ठूलो ब्याट्री क्षमता, लामो ड्राइभिङ रेन्ज, आधुनिक प्रविधि, प्रिमियम इन्टेरियर, आकर्षक एसयूभी डिजाइन र प्रभावकारी ब्याट्री व्यवस्थापन प्रणालीका कारण नयाँ टाटा पन्च ईभी नेपाली बजारमा थप प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।

सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभीलाई आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा प्रदर्शन गर्ने तयारी गरेको छ। एक्स्पोमा गाडीलाई नजिकबाट अवलोकन गर्न तथा यसको नयाँ फिचरबारे जानकारी लिन ग्राहकले अवसर पाउनेछन्।

कम्पनीका अनुसार नयाँ पन्च ईभीले कम सञ्चालन खर्च, ऊर्जा दक्षता, लामो रेन्ज र आधुनिक विद्युतीय प्रविधिमार्फत नेपाली ग्राहकलाई थप सहज र किफायती विद्युतीय यात्रा अनुभव प्रदान गर्नेछ।

आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै

civil hospital
Hams Hospitals