Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई रु. १० लाख आर्थिक सहयोग

192
shares

काठमाडौं कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Pediatric ICU) सेवा सुदृढीकरणका लागि रु. १० लाख आर्थिक सहयोग प्रदान गरेको छ।

बैंकले प्रदान गरेको उक्त सहयोग विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको उपचारका लागि आवश्यक स्वास्थ्य सेवा तथा उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ।

नेपाल सरकारअन्तर्गत सञ्चालन हुँदै आएको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्रमध्ये एक हो। केन्द्रले देशका विभिन्न दुर्गम तथा पिछडिएका क्षेत्रबाट उपचारका लागि आउने आर्थिक रूपमा विपन्न, सीमान्तकृत तथा जोखिममा रहेका नवजात शिशु तथा बालबालिकालाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

बढ्दो बिरामी चाप तथा सघन उपचार सेवाको आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त सहयोग उपलब्ध गराएको जनाएको छ। सहयोगबाट नवजात शिशु तथा बालबालिकाको उपचारमा आवश्यक पूर्वाधार तथा उपकरण व्यवस्थापनमा सहयोग पुग्ने र उपचारको गुणस्तर अभिवृद्धि हुने अपेक्षा गरिएको छ।

कुमारी बैंकले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको विश्वास गर्दै आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका वर्गको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न विभिन्न कार्यक्रममार्फत योगदान पुर्‍याउँदै आएको जनाएको छ। बैंकका अनुसार यस सहयोगले नवजात शिशु तथा बालबालिकाको जीवनरक्षा दर बढाउन तथा स्वास्थ्य सेवामा विद्यमान असमानता न्यूनीकरण गर्न समेत सहयोग पुग्नेछ।

‘समुदायका लागि कुमारी बैंक’ भन्ने मूल भावनाअनुरूप बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासलगायतका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर २८५ शाखा, ४१ विस्तारित काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत लाखौँ ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गतका यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

civil hospital
Hams Hospitals