खेरजाने तितेपाती अब आम्दानीको स्रोत, तेल उत्पादनको तयारी
वि.सं.२०८३ भदौ २ मंगलवार
shares
सोलुखुम्बु । गाउँघरका बारी, कान्ला र वन क्षेत्रमा सामान्य रूपमा उम्रिएर उपयोगविहीन हुँदै आएको तितेपाती अब स्थानीय किसानका लागि आम्दानीको नयाँ स्रोत बन्ने भएको छ ।
उदयपुरको ताप्ली गाउँपालिकाले तितेपातीलाई व्यावसायिक रूपमा उपयोग गर्ने उद्देश्यले दुई स्थानमा डिस्टिलेसन प्लान्ट स्थापना गरी तेल उत्पादनको प्रक्रिया अघि बढाएको छ ।
गाउँपालिकाले वडा नम्बर ४ ठानागाउँ र वडा नम्बर १ जोरढुङ्गामा प्लान्ट स्थापना गरेको हो । ठानागाउँमा स्थापना गरिएको प्लान्टको गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले उद्घाटन गरेका हुन् ।
कृषकका बारी तथा आसपासका वन क्षेत्रमा प्राकृतिक रूपमा उम्रिएको तितेपाती सङ्कलन गरी प्लान्टमा प्रशोधन गरिनेछ । प्रशोधनपछि उत्पादन हुने तितेपातीको तेल औषधि, सौन्दर्य सामग्रीलगायतका क्षेत्रमा कच्चा पदार्थका रूपमा प्रयोग गर्न सकिने गाउँपालिकाले जनाएको छ ।
यसअघि खासै आर्थिक मूल्य नदिएको तितेपातीलाई प्रशोधन र बजारीकरणसँग जोडेर ‘खेर जाने वनस्पति–आम्दानीको स्रोत’ बनाउने गाउँपालिकाको लक्ष्य छ। किसानले आफ्नो खेतबारी तथा आसपासबाट सङ्कलन गरेको तितेपाती बिक्री गरेर अतिरिक्त आम्दानी गर्न सक्नेछन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष भट्टराईका अनुसार आर्थिक वर्ष २०८२÷८३ को स्वीकृत कार्यक्रमअन्तर्गत बजेट विनियोजन गरी तितेपाती उत्पादन हुने क्षेत्र पहिचान गरिएको थियो । स्थानीयको माग र सम्भावनालाई ध्यानमा राखेर प्रशोधन कार्यक्रम अघि बढाइएको हो ।
अब चुनौती भनेको प्लान्ट स्थापना गर्नु मात्र नभई नियमित उत्पादन, गुणस्तर कायम, बजार खोजी र व्यावसायिक बजारीकरण गर्नु हो । यी पक्षलाई व्यवस्थित गर्न सके तितेपाती स्थानीय कृषकको आयआर्जनसँगै रोजगारी सिर्जनाको माध्यम बन्न सक्ने अपेक्षा गरिएको छ ।
ताप्ली गाउँपालिकाले आगामी दिनमा तितेपातीको उत्पादन, सङ्कलन, प्रशोधनदेखि बजारीकरणसम्मको सम्पूर्ण श्रृंखला व्यवस्थित गर्ने योजना बनाएको छ । यसबाट स्थानीय स्रोतको सदुपयोग हुनुका साथै गाउँमै रोजगारी र आयआर्जनका अवसर सिर्जना हुने विश्वास गरिएको छ ।





























