नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण
वि.सं.२०८३ भदौ ४ बिहीवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदबहाली गरेका छन्।
रावलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ ग्रहण गरेका हुन्। शपथ ग्रहणपछि उनले आजै डेपुटी गभर्नरको जिम्मेवारी सम्हालेका छन्।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावललाई नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गरिएको हो। शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले नवनियुक्त डेपुटी गभर्नर रावललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए।
रावलले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकको सेवा प्रवेश गरेका थिए। २०६८ सालमा उपनिर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १८ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका रावलले त्यसपछि बैंकको सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।
बैंकिङ क्षेत्रको लामो अनुभव बोकेका रावल डेपुटी गभर्नरको जिम्मेवारीमा नियुक्त भएसँगै नेपाल राष्ट्र बैंकको उच्च व्यवस्थापनमा थप जिम्मेवारीसहित प्रवेश गरेका छन्।





























