ज्योतिप्रकाश पाण्डे धरौटीमा छुटे, बैंक नेतृत्वमा फर्किने बाटो खुल्यो
वि.सं.२०८३ भदौ ५ शुक्रवार
shares
काठमाडौं ।स्मार्ट टेलिकमको धितो लिलामसम्बन्धी मुद्दामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० ज्योतिप्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतले पाण्डेसँग ८० लाख रुपैयाँ धरौटी माग गर्दै थुनाबाहिरै बसेर मुद्दाको प्रतिरक्षा गर्न पाउने आदेश दिएको हो। बिहीबार सम्पन्न थुनछेक बहसपछि न्यायाधीश कमलकान्त जोशीको एकल इजलासले उक्त आदेश जारी गरेको हो।अदालतको आदेशसँगै पाण्डेलाई बैंकको नियमित जिम्मेवारीमा फर्किने कानुनी बाटो खुलेको छ। पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको अवस्थामा भने उनको बैंक नेतृत्वमा निरन्तरता प्रभावित हुन सक्ने अवस्था थियो।
यसअघि पाण्डे गत वैशाख २९ गते सिन्धुलीबाट पक्राउ परेका थिए। आफ्नो पक्राउ गैरकानुनी भएको दाबी गर्दै उनकी पत्नी निरु दाहालले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेकी थिइन्।उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले गत जेठ ६ गते पाण्डेलाई हाजिरी जमानीमा रिहा गर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि थुनामुक्त भएका पाण्डेविरुद्ध सरकारले काठमाडौं जिल्ला अदालतमा औपचारिक रूपमा मुद्दा दायर गरेको थियो।
सोही मुद्दामा भएको थुनछेक बहसपछि जिल्ला अदालतले ८० लाख रुपैयाँ धरौटी लिएर पाण्डेलाई बाहिरै बसेर मुद्दाको प्रतिरक्षा गर्न अनुमति दिएको हो।तर, धरौटीमा रिहा गर्ने अदालतको आदेशले पाण्डेमाथि लागेको आरोप प्रमाणित भएको वा उनले सफाइ पाएको अर्थ राख्दैन। अब मुद्दाको नियमित सुनुवाइ तथा प्रमाण परीक्षणबाट आरोपको अन्तिम निरूपण हुनेछ।
स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणबाट २०७० वैशाख २ गते आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र प्राप्त गरी सेवा सञ्चालन गर्दै आएको थियो। तर, तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ को दफा २५९५० अनुसार २०८० वैशाख ३ गतेदेखि कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको थियो।अनुमतिपत्र खारेज भएपछि कम्पनीको सम्पत्तिमाथि सरकारको अधिकार कायम रहने अवस्थामा आवश्यक स्वीकृति नलिई मिलेमतोमा धितो बिक्री गरी बैंकको कर्जा असुल गरिएको सरकारी पक्षको आरोप छ।
सरकारी पक्षले यही आरोपलाई आधार बनाएर पाण्डेविरुद्ध ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा चलाएको हो।अदालतले अहिले पाण्डेलाई धरौटीमा बाहिर बसेर मुद्दाको प्रतिरक्षा गर्न अनुमति दिए पनि मुद्दाको अन्तिम फैसला हुन बाँकी छ। आगामी सुनुवाइमा सरकारी पक्षले प्रस्तुत गरेका आरोप तथा प्रमाण र प्रतिवादी पक्षको प्रतिरक्षामाथि अदालतले परीक्षण गर्नेछ।
































