skip this Honda Content BLock AD

जनताले जिताएका बिमल पौडेललाई कांग्रेस कार्यकर्ताले हराए

576
shares
Nabil bank

नेपाली कांग्रेसमा आमजनताको मत जितेका व्यक्ति पार्टीको आन्तरिक चुनावमा भने अयोग्य ठहरिन सक्छन् भन्ने उदाहरण बनेका छन्– बाह्रबिसेका बिमल पौडेल ।

गएको स्थानीय निर्वाचनमा बाह्रबिसे ८ मानेश्वरामा कांग्रेस तेस्रो स्थानमा थियो । तर, बिमल पौडेल उम्मेदवार बनेपछि त्यहाँ कांग्रेस पहिलो पार्टी बन्यो । एमाले, माओवादी र राप्रपालगायतका मतदाताले समेत उनलाई मन खोलेर मत दिए । अन्ततः उनी बाह्रबिसे नगरपालिका–८ को वडाध्यक्ष निर्वाचित भए ।

वडाध्यक्षका रूपमा उनले काम पनि राम्रै गरे । उनको कार्यशैलीमा दलीय गन्ध नदेखिएको भन्दै स्थानीयले प्रशंसा गरे । अर्थात्, उनले कांग्रेसको उम्मेदवार भएर चुनाव जिते पनि काम गर्दा सबैको प्रतिनिधिका रूपमा आफूलाई उभ्याए ।

भर्खरै सम्पन्न कांग्रेसको आन्तरिक निर्वाचनमा पौडेलले केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिए । चुनावी मैदानमा उनी खुलेर मत माग्दै हिँडे, सबैलाई नमस्कार गरे । तर, जितका लागि पर्याप्त मत पाएनन् । धेरै जना निर्वाचित हुने निर्वाचनमा समेत उनी पराजित भए । अर्थात्, जनताले मन पराएको व्यक्तिलाई कांग्रेसका आफ्नै कार्यकर्ताले मन पराएनन् ।

पौडेल कांग्रेसका नयाँ वा जुनियर कार्यकर्ता पनि होइनन् । अरु दल चहारेर कांग्रेस बनेका आगन्तुक पनि होइनन् ।

२०३८ सालदेखि नै कांग्रेसको विद्यार्थी राजनीतिमा उनको योगदान छ । पारिवारिक रूपमा पनि कांग्रेसको राजनीतिक विरासत बोकेका व्यक्ति हुन् । लामो समय पार्टीमा योगदान गरेका, जनताको मतबाट निर्वाचित भएका र गैरदलीय व्यवहारका कारण स्थानीय तहमा लोकप्रिय बनेका पौडेललाई पार्टीको आन्तरिक चुनावले भने अस्वीकार गरिदियो ।

कांग्रेसको आन्तरिक निर्वाचनमा जनताको लोकप्रियता, राजनीतिक योगदान र सामाजिक स्वीकार्यता कति महत्वपूर्ण छ ? भन्ने प्रश्न यो घटनाले देखाएको छ ।

जनताले विश्वास गरेको व्यक्तिलाई पार्टीका कार्यकर्ताले अस्वीकार गर्नु सामान्य चुनावी हार मात्र होइन । यो कांग्रेसको संगठनभित्रको मूल्यांकन प्रणालीमाथि पनि प्रश्न हो । हुनत अहिले कांग्रेस नै दुई खेमामा बिभाजित छ । एक खेमा महाधिवेशन गर्दैछ अर्को खेमा अदालतमा पुगेको छ । तर, पनि जनताले मन पराएको व्यक्ति कार्यकर्ताले तिरस्कार गर्ने दृष्य भने गतिलो होइन ।

जनताको मन जितेर चुनाव जित्ने व्यक्ति पार्टीभित्र भने किन हार्छ ? के कांग्रेसमा जनताबीच लोकप्रिय हुनु पर्याप्त छैन ? कि पार्टीभित्रको गणित, गुट र व्यक्तिगत सम्बन्ध जनताको विश्वासभन्दा बलियो भइसकेको हो ?

बिमल पौडेलको पराजयले यिनै प्रश्नलाई सतहमा ल्याएको छ ।

जनताले रोजेको मान्छे कार्यकर्ताले नरोजेपछि कांग्रेसले सोच्नुपर्ने विषय केवल बिमल पौडेलको हार होइन, कांग्रेसभित्रको जित–हारको मापदण्ड पनि हो ।

civil hospital
Hams Hospitals