ई–वेस्ट : आधुनिक प्रविधिको विकासले ल्याएको चुनौती

145
shares
Nabil bank

 

आजको संसार विज्ञान, प्रविधि र विद्युतीय उपकरणबिना कल्पना गर्न कठिन छ। मोबाइल फोनदेखि कम्प्युटरसम्म, घरायसी उपकरणदेखि अस्पतालका अत्याधुनिक उपकरणसम्म, बैंकिङदेखि सरकारी सेवा प्रवाहसम्म र परम्परागत सवारीसाधनदेखि विद्युतीय सवारीसाधनसम्म हाम्रो दैनिक जीवन प्रविधिसँग गहिरोसँग जोडिएको छ। प्रविधिले हाम्रो जीवनलाई सहज, छिटो र उत्पादनशील बनाएको छ। तर प्रविधिको यही तीव्र विस्तारसँगै विद्युतीय तथा विद्युतीय उपकरणजन्य फोहर (ई–वेस्ट) एउटा नयाँ चुनौती पनि तीव्र गतिमा बढिरहेको छ।

पुराना, बिग्रिएका वा प्रयोग गर्न नसकिने मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, प्रिन्टर, फ्रिज, वासिङ मेसिन, चार्जर, तार, इलेक्ट्रिकल सर्किट, ब्याट्री लगायतका विद्युतीय तथा विद्युतीय उपकरणबाट निस्कने फोहोरलाई विद्युतीय फोहोर भनिन्छ। पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा तिनका ब्याट्री, मोटर, विद्युतीय प्रणाली र यस्तै अन्य उपकरणहरुबाट उत्पन्न हुने फोहोर पनि यस विषयको महत्वपूर्ण पक्ष बनेको छ।

प्रविधि आवश्यक छ, तर जिम्मेवार प्रविधि झन् बढी आवश्यक छ। विद्युतीय तथा विद्युतीय उपकरणको प्रयोग आधुनिक जीवनको आवश्यकता हो। यसले समय र श्रम बचाउँछ, उत्पादनशीलता बढाउँछ, सूचना तथा सञ्चारमा पहुँच विस्तार गर्छ, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउँछ, सरकारी सेवा प्रवाहलाई सहज बनाउँछ र आर्थिक गतिविधिलाई तीव्र बनाउँछ।

तर प्रविधिको प्रयोगसँगै त्यसको सम्पूर्ण जीवनचक्र लाई पनि बुझ्न आवश्यक छ। कुनै उपकरण उत्पादन गर्दा कति स्रोत र ऊर्जा प्रयोग भयोरु कति समयसम्म प्रयोग गर्न सकिन्छरु बिग्रिएपछि त्यसलाई मर्मत गर्न सकिन्छ कि सकिँदैनरु पुनःप्रयोग गर्न सकिन्छ कि सकिँदैन, अन्ततः त्यसबाट निस्कने फोहोरलाई कसरी सुरक्षित रूपमा व्यवस्थापन गर्नेरु यी प्रश्नहरू अब यस्ता वस्तुहरुको उत्पादनसंगै बहसका अभिन्न विषय बन्नुपर्छ।हामीले प्रविधि प्रयोग गर्दा त्यसको अन्तिम गन्तव्यबारे सोचेनौँ भने आजको सुविधा भोलिको वातावरणीय संकट बन्न सक्छ।

विद्युतीय फोहोर अरु सामान्य फोहोरजस्तो मात्र होइन। यसमा सिसा, पारा, क्याडमियम, क्रोमियम लगायतका हानिकारक पदार्थ हुन सक्छन्। अर्कोतर्फ तामा, सुन, चाँदी, लिथियम, कोबाल्ट, निकेलजस्ता बहुमूल्य तथा पुनःप्रयोग गर्न सकिने पदार्थ पनि हुन्छन्।विद्युतीय फोहोरलाई जथाभावी फाल्दा वा खुला रूपमा जलाउँदा हानिकारक पदार्थ माटो, पानी र हावामा पुग्न सक्छन्। यसले वातावरणीय प्रदूषण बढाउनुका साथै मानव स्वास्थ्यमा समेत जोखिम निम्त्याउन सक्छ।

सुरक्षा उपकरणबिना यस्ता फोहोर छुट्याउने, काट्ने, जलाउने वा प्रशोधन गर्ने काममा संलग्न व्यक्तिहरू बढी जोखिममा पर्न सक्छन्। बालबालिका तथा गर्भवती महिलामा केही विषाक्त पदार्थको प्रभाव अझ संवेदनशील हुन सक्छ।यसरी जुन प्रविधिले मानव जीवनलाई सहज बनाउँछ, त्यसको अन्त्य गलत व्यवस्थापन भयो भने त्यही प्रविधि मानव र वातावरणका लागि जोखिम बन्न सक्छ।

नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ। पेट्रोल तथा डिजेलमा आधारित सवारीसाधनको तुलनामा विद्युतीय सवारीसाधनले सञ्चालनका क्रममा धुवाँजन्य प्रदूषण नगर्ने भएकाले स्वच्छ यातायातको दृष्टिले महत्वपूर्ण मानिन्छ। तर विद्युतीय सवारीसाधनलाई केवल खरिद र सञ्चालनको दृष्टिले हेरेर पुग्दैन। यसको ब्याट्रीको सम्पूर्ण जीवनचक्र लाई पनि सँगसँगै व्यवस्थापन गर्नुपर्छ।लिथियम–आयन ब्याट्रीलाई अरु सामान्य फोहोरसँग मिसाएर फाल्नु हुँदैन। क्षतिग्रस्त वा गलत तरिकाले भण्डारण गरिएका ब्याट्रीमा छोटो विद्युत् सर्किट बन्ने तथा आगलागी हुने जोखिम हुन्छ। प्रयोगपछि पनि यस्ता ब्याट्रीमा उपयोगी पदार्थहरु बाँकी रहेका हुन्छन्।

त्यसैले ब्याट्रीका लागि सुरक्षित संकलन, परीक्षण, मर्मत, पुनःप्रयोग, दोस्रो चरणको उपयोग, पुनर्चक्रण र अन्तिम सुरक्षित व्यवस्थापन को स्पष्ट प्रणाली आवश्यक हुन्छ।आगामी दिनहरुमा नेपालमा विद्युतीय सवारीसाधनको संख्या बढ्दै जाँदा आजैदेखि ब्याट्रीजन्य फोहोर व्यवस्थापनको पूर्वतयारी नगर्ने हो भने अहिलेको स्वच्छ यातायातको उपलब्धि भविष्यमा नयाँ फोहोर संकटमा परिणत हुन सक्छ। यसमा अहिले देखि नै सचेतनाको आवश्यकता छ।

विद्युतीय फोहोर व्यवस्थापनको सबैभन्दा महत्वपूर्ण परिवर्तन हाम्रो सोचमा हुनुपर्छ। यसलाई केवल “फाल्नुपर्ने फोहोर” का रूपमा हेर्नुभन्दा “पुनःप्राप्त गर्न सकिने स्रोत” का रूपमा हेर्नुपर्छ। यसलाई चक्रीय अर्थतन्त्र (Circular Economy)  को अवधारणासँग जोड्न सकिन्छ। चक्रीय अर्थतन्त्रको अवधारणा कुनै उपकरण प्रयोग गरिसकेपछि त्यसको जीवन समाप्त भएको मान्ने होइन त्यसलाई मर्मत, पुनःप्रयोग, पुनःनिर्माण, उपयोगी भागको पुनःप्राप्ति र पुनर्चक्रणमार्फत त्यसको मूल्यलाई पुनःअर्थतन्त्रमा ल्याउने अवधारणा हो।

पुरानो मोबाइल वा कम्प्युटरमा रहेको तामा, सुन, चाँदीजस्ता धातु पुनःप्राप्त गर्न सकिन्छ। ब्याट्रीबाट पनि केही महत्वपूर्ण पदार्थ पुनःप्रयोगका लागि प्राप्त गर्न सकिन्छ।यसरी विद्युतीय फोहोर व्यवस्थापन वातावरण संरक्षणको विषय मात्र नभई हरित रोजगारी, नयाँ उद्यम र स्थानीय आर्थिक विकासको अवसर पनि बन्न सक्छ।

पहिलो उपाय : प्रयोग घटाउने

विद्युतीय फोहोर व्यवस्थापनको पहिलो चरण पुनर्चक्रण होइन, आवश्यकताभन्दा बढी प्रयोग घटाउनु हो।आवश्यकता नभएको उपकरण नकिन्ने, छोटो समयमै केवल नयाँ नमुना बजारमा आएको कारण उपकरण परिवर्तन नगर्ने र ऊर्जा बचत गर्ने तथा लामो समय टिक्ने उपकरण प्रयोग गर्ने संस्कार विकास गर्नुपर्छ।

दोस्रो उपाय : मर्मत र पुनःप्रयोग

सानो खराबीका कारण उपकरण फाल्ने प्रवृत्ति परिवर्तन गर्नुपर्छ। मर्मत गरेर आयु बढाउने, काम गर्ने पुराना उपकरण अन्य व्यक्ति वा संस्थालाई पुनःप्रयोगका लागि दिने र पुराना उपकरणलाई पुनःउपयोगयोग्य बनाउने व्यवस्था विकास गर्नुपर्छ।यसले एकातर्फ विद्युतीय फोहोर घटाउँछ भने अर्कोतर्फ मर्मत तथा पुनःनिर्माण व्यवसायमा रोजगारी सिर्जना गर्न सक्छ।

तेस्रो उपाय : छुट्टै संकलन

विद्युतीय फोहोरलाई घरायसी फोहोरसँग मिसाउनु हुँदैन। मोबाइल, कम्प्युटर, प्रिन्टर, चार्जर, तार, विद्युतीय सर्किट र ब्याट्री आदिका लागि छुट्टै संकलन प्रणाली आवश्यक छ।स्थानीय तहले वडा तहमा संकलन केन्द्र स्थापना गरी निश्चित समयमा विद्युतीय फोहोर संकलन गर्ने व्यवस्था गर्न सक्छ। विद्यालय, कलेज, सरकारी कार्यालय र व्यावसायिक संस्थालाई पनि यस अभियानमा जोड्न सकिन्छ।

चौथो उपाय : सुरक्षित पुनर्चक्रण

विद्युतीय फोहोरको पुनर्चक्रण सामान्य कबाडी प्रक्रियाजस्तो हुनुहुँदैन। हानिकारक पदार्थलाई सुरक्षित रूपमा अलग गर्ने र पुनःप्रयोग गर्न सकिने धातु, प्लास्टिक, सिसा तथा अन्य सामग्रीलाई वातावरणीय मापदण्डअनुसार पुनःप्राप्त गर्ने प्रमाणित पुनर्चक्रण केन्द्र को विकास आवश्यक छ।यसका लागि सरकार, स्थानीय तह र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य हुन्छ।

उत्पादक र आयातकर्ताको पनि जिम्मेवारी

विद्युतीय फोहोर व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी उपभोक्ता वा स्थानीय सरकारमाथि मात्र राख्नु उचित हुँदैन। उत्पादक तथा आयातकर्तालाई पनि उनीहरूले बजारमा ल्याएका उपकरणको जीवनचक्रको अन्तिम चरणसम्म जिम्मेवार बनाउने उत्पादकको विस्तारित जिम्मेवारी (EPR– Extended Producer Responsibility)  प्रणाली प्रभावकारी बनाउन आवश्यक छ।उत्पादक वा आयातकर्ताले पुराना उपकरण फिर्ता लिने, सुरक्षित रूपमा पुनर्चक्रण गर्ने र उपभोक्तालाई उचित व्यवस्थापनसम्बन्धी जानकारी दिने व्यवस्था गर्न सक्छन्।

स्थानीय तहको भूमिका

विद्युतीय फोहोर व्यवस्थापनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहन्छ। स्थानीय सरकारले विद्युतीय फोहोर संकलन केन्द्र स्थापना गर्नुका साथै निजी क्षेत्रसँग सहकार्य गरी पुनर्चक्रणको सञ्जाल निर्माण गर्न सक्छ। स्थानीय युवालाई तालिम दिएर मर्मत, पुनःप्रयोग, संकलन, वर्गीकरण, छुट्याउने र पुनर्चक्रण सम्बन्धी सीप विकास गर्न सकिन्छ। यसबाट हरित रोजगारी सिर्जना हुन सक्छ।स्थानीय तहहरुलेले विद्युतीय फोहोर व्यवस्थापन केन्द्र लाई वातावरणीय पूर्वाधारका रूपमा विकास गर्न सक्छन्। यसलाई स्थानीय आर्थिक विकाससँग जोडेर हरित उद्यम विकास केन्द्र का रूपमा समेत विकास गर्न सकिन्छ।

जनचेतना र शिक्षा पनि उत्तिकै आवश्यक

कानुन र  संस्थागत संरचना मात्र समस्या समाधानका पर्याप्त उपाय होइनन्। नागरिकको व्यवहार परिवर्तन आवश्यक हुन्छ। विद्यालयदेखि विश्वविद्यालयसम्म विद्युतीय फोहोरसम्बन्धी वातावरणीय शिक्षा दिनुपर्छ। पुरानो मोबाइल कहाँ फाल्ने?, ब्याट्री कसरी सुरक्षित राख्ने?, कुन उपकरण मर्मत गर्न सकिन्छ र कहाँ बुझाउने? जस्ता व्यावहारिक जानकारी नागरिकलाई उपलब्ध गराउनुपर्छ।

डिजिटल रूपान्तरणसँगै डिजिटल जिम्मेवारी

नेपाल डिजिटल रूपान्तरणको चरणमा छ। सरकारी सेवा, शिक्षा, बैंकिङ, स्वास्थ्य, व्यापार र सञ्चार सबै क्षेत्रमा डिजिटल उपकरणको प्रयोग बढ्दै छ। यो सकारात्मक परिवर्तन हो। तर डिजिटल रूपान्तरणसँगै डिजिटल जिम्मेवारी पनि विकास गर्नुपर्छ।डिजिटल नेपाल निर्माणको अर्थ धेरैभन्दा धेरै उपकरण प्रयोग गर्नु मात्र होइन ती उपकरणको जिम्मेवार उपयोग र अन्तिम व्यवस्थापनको प्रणाली निर्माण गर्नु पनि हो।त्यसैले विद्युतीय शासनको बहससँगै विद्युतीय फोहोर व्यवस्थापनको शासन प्रणाली को बहस पनि अघि बढाउन आवश्यक छ।

हरित प्रविधिदेखि हरित अर्थतन्त्रतर्फ

नेपालले विद्युतीय फोहोरलाई केवल वातावरणीय समस्या भनेर सीमित गर्नु हुँदैन। यसलाई हरित अर्थतन्त्र, चक्रीय अर्थतन्त्र र हरित रोजगारी को अवसरका रूपमा लिनुपर्छ।यसका लागि तीन तहमा रणनीति आवश्यक देखिन्छ।

पहिलो, नीतिगत तहमा स्पष्ट कानुनी व्यवस्था, उत्पादकको विस्तारित जिम्मेवारी, मापदण्ड, जिम्मेवारी निर्धारण र प्रभावकारी अनुगमन।दोस्रो, संस्थागत तहमा स्थानीय संकलन केन्द्र, सुरक्षित भण्डारण, प्रमाणित पुनर्चक्रण केन्द्र र निजी क्षेत्रसँगको सहकार्य र तेस्रो, नागरिक तहमा प्रयोग घटाउने, मर्मत गर्ने, पुनःप्रयोग गर्ने, फिर्ता गर्ने र पुनर्चक्रण गर्ने संस्कारको विकास गर्ने। नेपालमा विद्युतीय सवारीसाधनको विस्तारसँगै ब्याट्री व्यवस्थापन नीति, पुरानो ब्याट्री फिर्ता लिने व्यवस्था र पुनर्चक्रण पूर्वाधारलाई पनि समानान्तर रूपमा अघि बढाउनुपर्छ।

प्रविधिको भविष्य जिम्मेवारीसँग जोडिनुपर्छ

प्रविधि विकासको विकल्प होइन विकासको महत्वपूर्ण साधन हो। विद्युतीय तथा विद्युतीय उपकरणले हाम्रो जीवन, अर्थतन्त्र र सार्वजनिक सेवामा ठूलो परिवर्तन ल्याएका छन्। विद्युतीय सवारीसाधनले स्वच्छ यातायाततर्फ नयाँ सम्भावना खोलेका छन्।तर प्रविधिको वास्तविक सफलता त्यसको प्रयोगमा मात्र होइन, उसको सम्पूर्ण जीवनचक्रको जिम्मेवार व्यवस्थापनमा निर्भर हुन्छ।आज हामीले प्रयोग गर्ने मोबाइल, कम्प्युटर, टेलिभिजन वा विद्युतीय सवारीसाधनको ब्याट्री भोलिको फोहोर मात्र होइन त्यो भोलिको स्रोत, रोजगारी र आर्थिक मूल्य पनि हुन सक्छ।

त्यसैले अब विद्युतीय फोहर पनि कम उत्पादन गरौँ, उत्पादन भए छुट्याऔँस छुट्याएको फोहोर सुरक्षित रूपमा पुनःप्रयोग गरौँस पुनःप्रयोग हुन नसक्ने वस्तु पुनर्चक्रण गरौँ र अन्तिम अवशेषलाई सुरक्षित व्यवस्थापन गरौँ भन्ने सोचको आवश्यकता छ ।यही सोचले विद्युतीय फोहोरलाई वातावरणीय बोझबाट आर्थिक अवसरमा, एकपटक प्रयोग गरेर फाल्ने अर्थव्यवस्थालाई चक्रीय अर्थतन्त्रमा र प्रविधिको उपभोगलाई जिम्मेवार प्रविधि संस्कृतिमा रूपान्तरण गर्न सक्छ।हरित भविष्य केवल स्वच्छ ऊर्जा प्रयोग गरेर मात्र सम्भव हुँदैन हामीले प्रयोग गरिसकेका प्रविधिको अन्त्य पनि स्वच्छ, सुरक्षित र दिगो बनाउन सक्नुपर्छ।

 

डा. दामोदर रेग्मी प्रशासनविद तथा गीतकार हुन्

 

 

civil hospital
Hams Hospitals