एनपिएल–३ : नेपाली प्रतिभाको संघर्षबीच चम्कदै विदेशी ‘स्टार’

87
shares
Nabil bank

 

काठमाडौ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानले फेरि एकपटक इतिहासको रचना गर्ने समय अब धेरै पर छैन ।

औपचारिकरूपमा भोलि(सोमबार)देखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणले नयाँ सपनाको साक्षी बन्ने अन्तिम तयारी पूरा गरेको छ।

यो आयोजन नेपाली खेलकुदको एउटा उत्सव मात्र होइन, उपलब्धिको साक्षी पनि हो । यो सँगै नेपाली क्रिकेटको व्यावसायिक उचाई र रुपान्तरणको गतिलो दस्तावेज पनि हो।

तर यसपटकको प्रतियोगिता थप चर्चित बन्ने कारण छ विदेशी खेलाडीहरूको उल्लेख्य उपस्थिति । प्रतियोगिता नजिकिँदै गर्दा विभिन्न फ्रेन्चाइज टिमहरूले आफ्ना विदेशी कोटाका स्टार खेलाडीलाई पूर्णरूपमा पक्का गरी कीर्तिपुरको मैदानमा उतार्ने अन्तिम प्रक्रिया पूरा गरिसकेका छन्। विदेशी खेलाडीहरूको आगमनले बजारको ग्राफ उकालो लागेको छ।

संघर्षबीच मौलाएका नेपाली प्रतिभा र विदेशी ‘स्टार’ को सङ्गमपछिको परिणामको प्रतीक्षा निश्चय महत्त्वपूर्ण हुनेछ ।

विदेशी अनुहारको आगमन र फेरिएको व्यावसायिक ग्राफ

त्यसो त अघिल्ला दुई शृङ्खलामा पनि विदेशी खेलाडी नआएका होइनन्। पहिलो श्रृङखलामा भारतीय स्टार खेलाडी शीखर धवनको आगमनसँगै प्रारम्भ भएको विदेशी खेलाडी नेपालमा आएर खेल्ने कुरा यसपटक आइसीसीको नीतिपछि संस्थागत हुन पुगेको छ ।

आईसीसीले एनपीएललाई मान्यता दिएसँगै यसपटक विश्वका चर्चित ‘स्टार’ हरू मोइन अली, शाकिब अल हसन, रबी बोपारा, मार्क वाट, हुसैन तलात, आरिफुल इस्लाम, अकबर अली, सेफ अली जैब, स्कट कुगेलेइन, निरोशन डिकवेला, हरमित सिङ्ह, शाहबजादा फरहान, जिमि निसन, डेविड वार्नर, केएस भरत, सचान अर्चग, आन्द्¥इ रसल, एन्जेलो म्याथ्युज, चरित असलन्का, सुभम रन्जने, इफ्तिखार अहमद, रदर्फोर्ड, मेहन्दी हसन, फ्याबियन एलनजस्ता विश्व खेल जगतका स्थापित नामहरूले नेपाली माटोमा पाइला टेक्ने सुनिश्चित भएको छ ।

यसबाट क्रिकेट बजारमा जुन ऐतिहासिक तरङ्ग पैदा भएको छ, त्यसले आम खेलप्रेमीहरूलाई रोमाञ्चित र अचम्मित बनाएको छ। तर आइसीसीसँग राम्रो सम्बन्ध रहेको भनिएको क्रिकेट एसोसिएसन नेपाल (क्यान)ले आयोजना गर्ने यो खेल महोत्सवमा आइसीसीका अध्यक्ष जय शाहको मुलुकबाट उल्लेख्य खेलाडी सहभागी नहुनु अर्थपूर्ण छ ।

खेल समीक्षक साहित्यकार रमेश रन्जन भन्छन,‘यसले प्रश्न त उठछ नै । आइसीसीले मान्यता दिए पनि बिआइसीसीले एनपीएललाई खुलेर मान्यता दिन सकेको छैन शायद । त्यसैले भारतका पर्याप्त खेलाडी सहभागी भएको देखिएन,’ उनी भन्छन,‘ भारतीय खेलाडीको उपस्थिति नेपाल र नेपालीका लागि महत्वपूर्ण छ ।’

अग्रज खेल पत्रकार तथा समीक्षक मुकुन्द दाहालका अनुसार नेपालमा भारतीय खेलाडीको अलगै ‘क्रेज’ छ । नेपालका थुप्रै खेलाडीले भारतीय खेलाडीलाई हेर्दै आफ्नो क्यारियर अगाडि बढाएका छन ।

विदेशी खेलाडी नेपालमा आएर खेल्ने कुरा महत्वपूर्ण त हो तर यो बाह्य चम्किलो प्रकाश, ठूलो धनराशी र स्टारडमको भिडभाडबीच नेपाली क्रिकेटको आफ्नै जरा र यहाँका उदीयमान युवाहरूको भविष्य कता जाँदैछ भन्ने गम्भीर प्रश्नले अहिले बौद्धिक तथा खेल वृत्तमा बहस सिर्जना गरेको छ।

अग्रज खेल पत्रकार तथा समीक्षक दाहाल भन्छन,‘यसपटकको प्रतियोगितामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आधिकारिक मान्यता र प्रत्येक फ्रेन्चाइज टिमले आठ जनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न पाउने नीतिले मैदानभित्र र बाहिरको तापक्रमलाई अर्कै उचाइमा पुर्याएको छ। यो सकारात्मक हो,’ उनी थप्छन,‘तर नेपाली प्रतिभाको भविष्य सुनिश्चित गर्ने रणनीतिको भने अभाव देखियो ।’

विदेशीलाई अवसर कि स्वदेशी प्रतिभाको अवमूल्यन ?

विदेशी खेलाडीहरूको यो बाक्लो उपस्थितिले नेपालको व्यावसायिक खेलकुदको आकार र ब्रान्डिङलाई त निकै फराकिलो बनाएको छ, तर यसले नेपाली खेलकुद वृत्तमा मिश्रित प्रतिक्रिया र वैचारिक मन्थन पनि जन्माएको छ। यस विषयमा क्रिकेटका प्रशंसक एवम विश्लेषक सन्जय ढुङ्गानाको भनाइ महत्त्वपूर्ण छ ।

उनी भन्छन,‘विदेशको ताराको उज्यालोले नेपालको अध्यारोको अन्त्य हुन्छ कि हुन्न ? सोचनीय छ,’ उनी भन्छन, ‘नेपाली प्रतिभालाई गौण बनाएर ल्याइने विदेशी खेलाडीका भरमा मात्र नेपालको खेलकुदको अपेक्षित विकास हुन सक्दैन ।’

नेपाल पत्रकार महासङ्घ धनुषाका अध्यक्ष पुरन गुप्ता यसलाई विशुद्ध सकारात्मक र ऐतिहासिक छलाङका रूपमा हेर्छन । उनी आफ्नो प्रष्ट धारणा राख्दै भन्छन, ‘एनपीएलमा विश्वस्तरीय खेलाडीहरूको सहभागिता हुनु भनेको नेपालको खेलकुद पर्यटन र अन्तर्राष्ट्रिय ब्रान्डिङका लागि एउटा सुनौलो अवसर हो। यसले हाम्रो क्रिकेटको बजारलाई मात्र फराकिलो बनाएको छैन, विश्वमा नेपालको साखलाई अझ उँचो बनाउन र नयाँ लगानी भित्र्याउन मद्दत गरेको छ।’

अर्कोतर्फ, घरेलु मैदानमा खेल्ने स्थानीय र उदीयमान प्रतिभाहरू ओझेलमा पर्ने चिन्ता पनि उत्तिकै बलियो रूपमा उठेको छ। सप्तरीका पूर्व खेलाडी मोहन मिश्रको भोगाइ र विश्लेषण अलि फरक र गम्भीर छ ।

उनी भन्छन, ‘विदेशी खेलाडीहरूसँग एउटै ड्रेसिङ रुम सेयर गर्नु र मैदानमा उनीहरूकाविरुद्ध प्रतिस्पर्धा गर्नु हाम्रा युवाहरूका लागि ठूलो सिकाइ हो, यसमा कुनै शंका छैन। तर, अर्को पाटोबाट गम्भीर भएर हेर्दा, जब मुख्य र निर्णायक भूमिकाहरूमा विदेशीहरू मात्र हाबी हुन्छन्, तब घरेलु खेलाडीहरूले आफ्नो क्षमता प्रदर्शन गर्ने र अनुभव बटुल्ने पर्याप्त मञ्च गुमाउने जोखिम पनि उत्तिकै ठूलो छ।’

यसै विषयमा सर्लाहीका क्रिकेटप्रेमी तथा विश्लेषक विश्वमणी दाहाल भने सन्तुलित हुन खोज्छन । उनी भन्छन्,‘यसलाई अतिरञ्जित रूपमा पूर्ण खतरा वा केवल अवसर मात्र भन्न मिल्दैन। नियम अनुसार मैदानमा एकसाथ चार जना मात्र विदेशी खेलाडी खेल्न पाउनेछन् र सात जना नेपाली खेलाडी त सँधै मैदानमै हुनेछन्। मुख्य कुरा हामीले विदेशीहरूको यो उपस्थितिलाई कति छिटो र प्रभावकारी रूपमा आफ्नो सिकाइमा रूपान्तरण गर्न सक्छौं भन्ने हो। यदि सही व्यवस्थापन र ‘ट्युटरिङ’ भयो भने यो नेपाली खेलाडीहरूका लागि आफ्नै स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पुर्याउने गतिलो माध्यम बन्न सक्छ।’

जे होस, एनपीएलको यो तेस्रो संस्करणले नेपाली क्रिकेट मैदानमा चौका र छक्काको उचाइ मात्र बढाएको छैन, यसले नेपाली खेलकुदको अर्थतन्त्र, व्यवस्थापकीय परिपक्वता र दूरदर्शितालाई पनि उजागर गरेको छ ।

विदेशी स्टारको चमकले नेपाली माटोमा पसिना बगाउने युवा प्रतिभाहरूको भविष्यलाई कुनै पनि हालतमा ओझेलमा पार्न दिनु हुँदैन। भोलिदेखि कीर्तिपुरको मैदानमा गुन्जिने हजारौं दर्शकको ताली र हुटिङले जसरी विदेशी खेलाडीको कलात्मक खेललाई सम्मान गर्छ, ठीक त्यसरी नै नेपाली माटोका होनहार खेलाडीको संघर्ष, क्षमता र अवसरलाई पनि न्याय गर्न सक्नुपर्छ। यही सन्तुलनले मात्र एनपीएललाई दीर्घकालीन रूपमा सफल र सार्थक बनाउनेछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x