भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरुमा सतर्कता

580
shares
Nabil bank

 

एजेन्सी । भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबस्र्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ ।

हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ बग्न थालेपछि प्रशासनले आपतकालीन तयारीसमेत अघि बढाएको छ ।

संकोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।

सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै दार्जिलिङ पहाडी क्षेत्र, तराई तथा डुवर्सका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।

दार्जिलिङका भारतीय जनता पार्टी (भाजपा)सांसद राजु विष्टले सामाजिक सञ्जाल एक्समार्फत यस घटनाबारे जानकारी दिँदै जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

उनले लेखेका छन्, ‘भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट भएको खबर प्राप्त भएको छ । तालबाट बाहिरिएको पानी मोफु नदी हुँदै संकोश नदीतर्फ बगिरहेको छ ।’

उनले संकोश नदी र यससँग जोडिएका सबै सहायक नदीको जलाधार क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आफ्नो जीवन रक्षाका लागि तत्काल सुरक्षित दूरीमा जान आग्रह गरेका छन् । साथै दार्जिलिङका पहाडी क्षेत्र, तराई र डुवर्सका बासिन्दालाई पनि सतर्क रहन अनुरोध गरेका छन् ।

हिमताल विस्फोट अर्थात् ग्लोफलाई जोकुलह्लाउप पनि भनिन्छ । हिमताललाई रोकिरहेको प्राकृतिक बाँध भत्किँदा वा फुट्दा ठूलो परिमाणमा पानी एक्कासी बाहिर निस्केर तल्लो तटीय क्षेत्रमा बाढी आउने घटनालाई ग्लोफ भनिन्छ । यस्तो बाढीले ठूलो जनधनको क्षति पु¥याउन सक्छ ।

आपतकालीन तयारीबारे जानकारी दिँदै राज्य मन्त्री निशिथ प्रमाणिकले भुटानमा हिमताल विस्फोट भएको र तालको संकोश नदीतर्फ बगिरहेको जानकारी प्राप्त भएको बताएका छन् ।

उनका अनुसार आगामी पाँचदेखि छ घण्टाभित्र उक्त पानी समथर भूभागमा पुग्ने अनुमान गरिएको छ । यसले त्यस क्षेत्रमा ठूलो बाढी आउन सक्ने आशंका बढाएको छ ।

यसैबीच, अलिपुरद्वारका प्रहरी अधीक्षक अमित कुमार सावले स्थानीय बासिन्दालाई नआत्तिन आग्रह गरेका छन् । उनले अवस्थासँग जुध्न प्रशासनले भुटानका अधिकारी तथा विभिन्न विपद् प्रतिकार्य निकायसँग समन्वय गरिरहेको जानकारी दिएका छन् ।

उनले करिब चारदेखि पाँच हजार मानिसलाई विद्यालय भवनलाई राहत तथा आश्रयस्थलका रूपमा प्रयोग गरी सुरक्षित स्थानमा सारिएको र थप छ हजारभन्दा बढीलाई पनि सुरक्षित क्षेत्रमा स्थानान्तरण गरिएको जानकारी दिए ।

उनले संकोश नदी प्रणालीमा रेड अलर्ट जारी गरिएको जानकारी दिँदै नदीमा आउने पानीसँगै मरेका माछा, काठका ठूला टुक्रा तथा कङ्क्रिटका अवशेषसमेत बगेर आउन सक्ने चेतावनी दिएका छन् ।

भुटानको गासा जिल्लामा बिहीबार राति शिन्ताफू हिमताल फुटेको हो । ताल फुटेर बाढी आएको थियो । कारण मानवीय क्षतिको विवरण नआएपनि चर्चित तातोपानी कुण्ड ‘गासा त्शाचु’ बगाएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

बाढीको तीव्र बहावले पुनाखा–गासा राजमार्गको एक भागसमेत बगाएपछि यातायात बन्द गरिएको छ। यता, पश्चिम बंगाल र असम दुवै राज्यका सीमावर्ती तथा नदी आसपासका क्षेत्रका बासिन्दालाइ सुरक्षित स्थानमा सारिएको छ। (एएनआइ)

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x