यस्ता छन् मन्त्रिपरिषद्का सात निर्णय
वि.सं.२०८३ मंसिर ४ शुक्रवार
shares
काठमाडौं । सरकारले प्रधानमन्त्री वालेन्द्र शाहको आगामी मंसिर ६ र ७ गते हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णयसमेत गरेको छ।
सञ्चारमन्त्री विक्रम तिमिल्सिनाका अनुसार मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गर्दै भ्रमणका लागि आवश्यक प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो।
बैठकले देशभर नापजाँच हुन बाँकी सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको लगत तयार गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि त्यस्ता जग्गाको नापजाँच गर्न मन्त्रिपरिषद्ले आदेश जारी गर्ने निर्णय गरेको मन्त्री तिमिल्सिनाले जानकारी दिएका छन्।
त्यस्तै, भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा तथा तत्काल उद्धारका लागि चीन सरकारले उपलब्ध गराउने २० लाख अमेरिकी डलर नगद अनुदान स्वीकार गर्ने निर्णय भएको छ।
यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ‘र्यापिड क्रेडिट फेसिलिटी’ अन्तर्गत प्राप्त हुने करिब १० करोड ७० लाख अमेरिकी डलर बराबरको निर्ब्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
मन्त्रिपरिषद् बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना २०२६–२०३०, ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुंगे पुल नीति, २०८३ समेत स्वीकृत गरेको छ।
सरकारका यी निर्णयले प्रधानमन्त्रीको भारत भ्रमणसँगै जग्गा व्यवस्थापन, विपद् उद्धार, अन्तर्राष्ट्रिय आर्थिक सहयोग तथा सम्पदा संरक्षणका विषयलाई प्राथमिकतामा राखेको देखिएको छ।
































