डेटिकेटेड र ट्रंक लाइन विवाद समाधान गरिदिनुस्:नेपाल उद्योग परिसंघ
वि.सं.२०७८ साउन २१ बिहीवार
shares
काठमाडौं । नेपाल उद्योग परिसंघले डेटिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आग्रह गरेका छन् । बिहीबार प्रधानमन्त्री देउवासँगको भेटमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको टोलीले उक्त आग्रह गरेका हुन् ।
भेटमा परिसंघका अग्रवालले नेपाल विद्युत प्राधिकरणले छुट बिलका नाममा उद्योगी व्यवसायीलाई त्रसित बनाउने गरी बक्यौता भुक्तानीका लागि पत्राचार गरेको र हाल आएर सो को बक्यौता उठाउन ताकेता गरिरहेको भन्दै डेटिकेटेड र ट्रंक लाइन विवाद समाधानका लागि आग्रह गरेका हुन् ।
त्यस्तै, जनजीवन सामान्य बनाउन र अर्थतन्त्रमा गतिशीलता दिन सबैलाई खोपको व्यवस्थापन हुनुपर्नेमा अग्रवालले जोड दिएका छन् । उनले कोभिडको भ्याक्सिन वितरणमा उद्योगी व्यवसायी र उद्योग व्यवसायमा कार्यरत कर्मचारीलाई प्राथमिकतामा राख्न आग्रह पनि गरे ।
कोभिड १९ को तेस्रो लहरको जोखिम बढ्दै जाँदा अस्पताल, अक्सिजनलगायतका अत्यावश्यक वस्तुको व्यवस्थापनमा जटिलता बढ्न सक्ने भएकाले अहिलेदेखै नै अक्सिजन प्लान्ट, सिलिन्डर र अस्पतालको चुस्त व्यवस्थापनका लागि पनि उनले आग्रह गरे ।
उत्पादनमुखी अर्थतन्त्र अहिलेको अपरिहार्य आवश्यकता हो बताउँदै अध्यक्ष अग्रवालले त्यसलाई वास्तविकतामा परिणत गर्न नेपाल उद्योग परिसंघले ुमेक इन नेपाल(स्वदेशीु अभियान सञ्चालन गरेको जानकारी गराए ।
अग्रवालले गत वर्ष मौद्रिक नीतिले तरलता व्यवस्थापन र एकल दरको ब्याजदर कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै यस वर्ष पनि अर्थतन्त्रलाई गतिशील बनाउन र निजी क्षेत्रका लागि आवश्यक तरलता व्यवस्थापन र ब्याजदर वृद्धि रोक्ने गरी गर्ने गरी मौद्रिक नीति आउनेमा आफूहरू विस्वस्त रहेको उल्लेख गरे । उनले पर्यटन, हवाई उड्डयन, साना तथा मझौला व्यवसायलगायतका क्षेत्रमा कोभिडको ठूलो असर परेको बताउँदै ती व्यवसायलाई पुनर्जिवित गरी अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ठूलो सहयोग आवश्यक पर्ने बताए ।
परिसंघले ह्विलिङ चार्ज तिरेर विद्युत आपूर्ति गर्न पाउने विषय नीतिगतरूपमा सम्बोधन भए पनि त्यसको कार्यान्वयनका लागि कानुनी व्यवस्था गर्न पनि जोड दिएको छ ।
प्रधानमन्त्री देउवाले परिसंघका धारणालाई सकारात्मक रूपमा लिनुहुँदै निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्ने बताए ।
भेटमा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, राजेशकुमार अग्रवाल, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह, हेमराज ढकाल, महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।































