‘ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया धकेलियो’

10K
shares
Nabil bank

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन्। आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने, ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ। त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ। केही विषयमा सहमति भएका छन् तर धेरै विषयमा सहमति भएको छैन’, उनले भने।

सहमतिको प्रस्ताव आएकै बेला काठमाडौं जिल्ला कमिटीको बैठकमा अध्यक्षले माधव नेपाल राष्ट्रद्रोही हो भनेको प्रसंग उल्लेख गर्दै नेपालले थपे, ‘एक दिनअघि प्रस्ताव गर्ने, भोलिपल्ट अर्कै भाषण गर्ने कुराले परिस्थिति बिगारेको छ। अध्यक्षको प्रस्ताव आएको छ तर केही पनि टुंगो लागेको छैन। उनी नजिकका नेताहरू त्यो हुन्न भनिरहेका छन्।’ नेपालले सम्मानजनक हैसियतमा पार्टी एकता हुने वातावरण तयार नहुँदासम्म ओलीसँग झुक्न नहुने बताए । उनले पार्टीभित्रको विवाद मिलाउने मुख्य जिम्मेवारी अध्यक्षको नै भएको बताए।

नेपालले साउन २४ अघि नै सहमति कायम गर्न कार्यदलमा रहेका नेताहरूलाई आग्रह गरेका छन्। अध्यक्ष ओलीले साउन २४ गते केन्द्रीय कमिटी बैठक बोलाएका छन्। ‘२४ गते केन्द्रीय कमिटी बैठक बोलाएको भन्ने सुनिएको छ। हामीले के गर्ने, त्यसअघि नै निष्कर्ष निकालेर अघि बढ्नुपर्छ’, नेता नेपालले भने। उनले एकताको प्रयास दुवै पक्षबाट भएको बताए। ‘हामी सबै एकताको प्रयासमा छौं ।

यो प्रयास हामी र केपी ओलीकै मान्छेबाट पनि भइरहेको छ। ‘एकताकै लागि केपी ओलीका मान्छेहरू पनि आएर मसँग बारम्बार छलफल गर्छन् तर सहमतिमा भने पुगिएको छैन’, नेपालले भने। उनकै भनाइमा टेकेर केन्द्रीय सदस्य ठाकुर गैरेले चैतमा भएको कार्यकर्ता भेलाले लिएको निर्णयमा कुनै फेरबदल नआएकाले त्योभन्दा बाहिर जान नहुने बताए। ‘गत चैतमा गरिएको कार्यकर्ता भेला, त्यसपछिको केन्द्रीय कमिटी बैठकले दिएको निष्कर्षकै जगमा हामी छौं । त्यो आजसम्म फेरिएको छैन। हामी त्यही ठाउँमा भएका कारण पार्टीलाई विभाजन गर्ने कुरा कहीं छैन’, उनले भने।

केन्द्रीय सदस्य अरूण नेपालले एमाले देशकै सर्वाधिक ठूलो र संगठित शक्ति भएको बताउँदै यो शक्ति फुट्यो भने यसबाट एमालेमात्र नभई सिंगो राजनीतिक क्षेत्र प्रभावित हुने बताए। ‘पहिलो असर संविधानमा पर्छ। हामी फुट्दा, कमजोर हुँदा लोकतन्त्र, गणतन्त्रविरोधीले संविधानमाथि आक्रमण गरेर ध्वस्त बनाउने कोसिस गर्छन् । दोस्रो, विशिष्ट कारणले सत्ता कांग्रेसको हातमा गए पनि सर्वाधिक ठूलो शक्ति वामपन्थी मिले भने सत्ता उनीहरूकै हातमा हुन्छ र वामपन्थीले जे भन्छन्, त्यही हुने अहिले पनि स्थिति छ।

आजकाे अन्नपूर्ण दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x