कोरोना कहरमा पनि वाणिज्य बैंकको नाफा उल्लेख्य
वि.सं.२०७८ भदौ १ मंगलवार
shares
काठमाडौं । कोरोना कहरबीच पनि हाल सञ्चालनमा रहेका विभिन्न २७ वटा वाणिज्य बैंकको नाफा बढेको पाइएको छ । सरकारले पटकपटक गरेको लकडाउन र निषेधाज्ञाका कारण मुलुकको आर्थिक गतिविधिमा नकारात्मक प्रभाव परेको बेला पनि वाणिज्य बैंकको नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १९ दशमलव ९७ प्रतिशतले बढेको देखिएको छ ।
विभिन्न बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को चौथो त्रैमासमा बैंकको नाफा जम्मा ५२ अर्ब ८२ करोड ६ लाख ७ हजार रुपैयाँ रहेको थियो । तर, आव २०७७÷७८ को चौथो त्रैमासमा आइपुग्दा १९ दशमलव ९७ प्रतिशतले बढेर कुल ६३ अर्ब ३७ करोड ३८ लाख ३६ हजार रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरूले आफ्आफ्ना अनलाइन प्रणालीलाई निकै भरपर्दो र व्यवस्थित बनाई सेवाग्राहीलाई राम्रो र सहज सुविधा उपलब्ध गराएकाले नाफा उल्लेखनीय रूपमा वृद्धि भएको बैंकिङ क्षेत्रमा संलग्न सरोकारवालाको दाबी छ । उनीहरूले कोरोना महामारीलाई आफूहरूले डर र त्रासका रूपमा भन्दा पनि राम्रो व्यवस्थापनसहित अवसरका रूपमा लिएकाले बैंकहरूले सेवाग्राहीलाई दिएको सहज सुविधासँगै राम्रो नाफा आर्जन गर्न सफल भएको बताएका छन् ।
सम्बन्धित सरोकारवाला एवं बैंकिङ क्षेत्रमा संलग्नका अनुसार यो अवधिमा नाफा आर्जन गर्ने विभिन्न वाणिज्य बैंकमध्ये नबिल बैंक अग्रस्थानमा रहेको छ । सो अवधिमा नबिल बैंकको नाफा सबैभन्दा बढी ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस बैंकको खुद नाफा जम्मा ३ अर्ब ४६ करोड ३२ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
नबिल बैंकपछि धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक रहेको छ । ग्लोबल आईएमई बैंकको नाफा ४१ दशमलव ८६ प्रतिशतले बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ । राजधानी दैनिकमा समाचार छ।































