नयाँ दल रोज्न २२ गतेसम्मको समय
वि.सं.२०७८ भदौ १४ सोमवार
shares
काठमाडौं । निर्वाचन आयोगले गत प्रदेश सभा निर्वाचन र स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादी पार्टीबाट निर्वाचित बनेका जनप्रतिनिधिलाई विभाजनपछि बनेको दल रोज्न समय दिएको छ ।
आयोगको आइतबार बसेको बैठकले नेकपा एमाले र जसपाबाट गत निर्वाचनमा प्रदेश सभा र स्थानीय तहमा निर्वाचित भएका तर अहिले राजनीति दलसम्बन्धी नयाँ अध्यादेशअनुसार दल विभाजन भएपछि विभाजित दलमा जान चाहनेहरूलाई दल फेर्ने अवसर दिएको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले सरकारले ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशअनुसार दल रोज्न दल गठन भएको दिनदेखि २१ दिनको समयलाई निर्धारण गरेको जानकारी दिए ।
एमाले र जसपाबाट जितेका जनप्रतिनिधिलाई दल रोज्ने अवसर
‘दल विभाजन अध्यादेश आएपछि दुई दल विभाजित भए, अध्यादेशले दल गठन गरेको २१ दिनभित्र दल रोज्न भने अनुसार आयोगले २१ दिनको समय दिएको हो, अब प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिले २२ भदौसम्मको समयभित्र दल रोज्न सनाखत गर्नुपर्नेछ,’ आयोगका प्रमुख आयुक्त थपलियाले राजधानीसँग भने ।
सरकारले केन्द्रीय समिति वा संसदीय दलमा कायम सदस्यमध्ये २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्नेगरी अध्यादेश ल्याएको थियो । त्यसपछि एमालेबाट विभाजित भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको थियो । राजधानी दैनिकमा समाचार छ।
































