‘तत्काल कुनै पार्टीसँग एकता हुँदैन्’ : नेपाल
वि.सं.२०७८ भदौ १४ सोमवार
shares
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तत्काल कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन्। नेकपा (एस) ले माओवादी केन्द्रसँग पार्टी एकीकरण गर्ने समाचार आइरहेका बेला अध्यक्ष नेपालले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै आफ्नो पार्टीको अहिलेको प्राथमिकता कुनै पार्टीसँग एकताभन्दा पनि राष्ट्रिय सम्मेलन गरी केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको बताएका हुन्।
‘अरूसँग एकताको विषयको प्रसंगमा हामी पहिले नै ठीक भएकाले तुरुन्त कुनै पार्टीसँग एकता हुँदैन। अब राष्ट्रिय सम्मेलन गरेर कमिटीलाई पूर्णता दिनुपर्छ,’ नेपालले भने। उनले पार्टी कम्युनिस्ट मूल्य मान्यता र वर्गीय दृष्टिकोणलाई आत्मसात् गर्दै अघि बढ्नेसमेत बताए। ‘हामी कम्युनिस्ट दृष्टिकोणमा विचलन भएका छैनौं। लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात् गरेर अगाडि बढ्नेछौं। रोजगारी सिर्जना र नयाँ पुस्तालाई आकर्षित गर्ने अभिभाराका साथ हामी अगाडि बढेका छौं। वर्गीय दृष्टिकोणलाई आत्मसात् गरेर अघि बढ्नेछौं। देशको स्वाभिमान जोगाउँदै अघि बढ्नेछौं। पार्टी निर्माणको मोर्चामा अघि बढ्नेछौं,’ नेपालले भने।
एमाले अध्यक्ष केपी ओलीको व्यक्तिवादी चरित्र र चिन्तनमा कुनै पनि सुधार नआएपछि आफू विद्रोह गर्न बाध्य भएको नेपालले बताएका थिए। ‘ओलीले एमालेमा आफ्नो गुटबाहेक कसैलाई पनि जिम्मेवारी दिनुभएन अन्यायको विरोध गर्दा आफूहरूले आफ्नै पार्टीभित्र अन्याय सहनुपर्यो। संसद्भित्र पनि आफनो गुटका मान्छेलाई मात्रै बोल्न दिने, पार्टीभित्र पनि त्यही अवस्था थियो’, नेपालले भने, ‘नेकपा (हाल विघटित) बनेपछि पनि अध्यक्ष भनेको सर्वोपरी हो जस्तै गर्न थालियो। कमिटी प्रणाली खारेज भयो। कमिटी प्रणाली लत्याउने र बेवास्ता गर्ने काम ओलीबाटै भयो, उहाँले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति पनि तोड्नु भयो। दक्षिणपन्थी भासमा डुब्न थाल्नु भयो।’
नेपालले ओलीका हर्कतप्रति असन्तुष्टि जनाउँदै अगाडि थपे, ‘उहाँले निर्वाचन आयोगमा छुटै पार्टी दर्ता गर्न लगाउनुभयो, उहाँसँग असहमत हुनेलाई कुर्सी भाँचिदिन्छु भन्दै धम्काउन थाल्नु भयो। कुर्सी ठूलो कुरो थिएन तर उहाँ कुर्सी नभई बाँच्न नसक्ने अवस्थामा पुग्नुभयो। निर्वाचन घोषणपत्र लागु गर्न उत्साहित हुनुभएन। उल्टै संविधानविपरीत प्रतिनिधिसभा विघटन गर्नु भयो।’
पार्टी एकताको वातावरण बिथोलेर दुर्घटनामा पुर्याउने कामको नेतृत्व ओलीले गरेको आरोप नेपालको थियो। ‘केपी ओलीका कारण समाज, नागरिक समाज, बौद्धिक समुुदाय सबै प्रताडित भए। बार्दलीको नाचदेखि बाँदर नाचसमेत देख्नु पर्यो। उहाँका शिष्य पनि त्यस्तै बोल्न थाले। एकता हुन थालेको वातावरण धुमिल पार्ने काम भयो। पार्टी आज दुर्घटनामा पर्यो’, नेपालले भने। नागरिक दैनिकमा समाचार छ।
































