युवा लेगस्पिनर सन्दीप लामिछानेकाे विश्व किर्तिमानी खेलमा नेपाल विजयी
वि.सं.२०७८ भदौ २६ शनिवार
shares
काठमाडौं । नेपाली क्रिकेट टोलीका युवा लेगस्पिनर सन्दीप लामिछानेले पपुवा न्युगिनीमा एक विश्व किर्तिमानी रचेका छन्।
पपुवा न्युगिनीसँगकाे द्राेस्राे खेलमा उनले ६ विकेट लिएसँगै ओडिआई क्रिकेटमा विश्व कीर्तिमान बराबरी गरेका हुन्।
सन्दीपले पाकिस्तानका चर्चित तीव्र गतिका बलर वाकर युनिस, शाहिन शाह अफ्रिदी, अष्ट्रेलिया स्टार स्पिनर शेन वार्न र भारतका मोहम्मद शामी जस्ता बलरको विश्व कीर्तिमानलाई भेट्टाएका छन्। उनले ओडिआईमा लगातार तीन इनिङमा चारभन्दा बढी विकेट लिने विश्व कीर्तिमान बराबरी गरेका हुन् ।
शुक्रबार सन्दीपले ५.१ ओभर बलिङ गर्दा ११ रन खर्चेर ६ विकेट लिँदै आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सुरुवाती ब्याटिङ गरेकाे नेपालले २ सय ३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेकाे थियाे। सन्दीपकै उत्कृष्ट बलिङमा पिएनजी १९.१ ओभरमा ८२ रनमा अल आउट भएको थियो । नेपालले पिएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गर्दै कीर्तिमान कायम गरेको छ ।
जुन ओडिआईमा नेपालको सर्वाधिक ठूलो जित हो । यसअघि ओडिआईमा नेपालको ठूलो जित सन् २०१९ मा युएईविरुद्ध १ सय ४५ रनको अन्तर थियो।
त्यस्तै नेपालले पपुवा न्युगिनीसँगकाे दुई ओडिआई खेलमा जित हासिल गरेकाे छ।
































