सरकारको विकास अनुगमन गर्ने महाशाखा नै निष्क्रिय
वि.सं.२०७८ असोज ११ सोमवार
shares
काठमाडौं । सरकारको नीति तथा कार्यक्रमहरूको वास्तविक रूपमा कार्यान्वयन भए÷नभएको अनुगमन तथा मूल्यांकन गर्न भन्दै मन्त्रालयमा स्थापना गरिएका अनुगमन महाशाखा निष्क्रिय अवस्थामा छन् । अनुगमन महाशाखा नै निष्क्रिय भएकाले सरकारका विकास तथा निर्माण कार्यले गति लिन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ।
वर्षौंदेखि मन्त्रालयमा स्थापना गरिएका अनुगमन तथा मूल्यांकन महाशाखा मन्त्रालयको अनाकर्षक महाशाखा पनि हो । यो महाशाखामा जोकोही सहसचिव जान मान्दैनन् । हाल रहेका २१ वटा मन्त्रालयमध्ये कतिपयमा अनुगमन महाशाखा मात्रै रहेको छ भने कतिपयमा योजना तथा अनुगमन शाखा नाम दिइएको छ ।
मन्त्रालयमा रहेका अनुगमन महाशाखाहरू निष्क्रिय हुँदा हाल पनि ती मन्त्रालयको कार्यसम्पादन नै कमजोर हुन पुगेको ठहर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गरेको छ । अनुगमन महाशाखा निष्क्रिय र नाम मात्रकै हुन पुग्दा सिंगो सरकारको कार्यसम्पादन पनि सशक्त नभएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए । राजधानी दैनिकमा समाचार छ।
































