एमाले विधान महाधिवेशन जारी, सर्वसम्मत नेतृत्व चयन तयारी

11.5K
shares
Nabil bank

एमाले विधान महाधिवेशनमा सहभागी प्रतिनिधिहरू दसौं महाधिवेशनबाट पार्टी अध्यक्षसहित पदाधिकारी सर्वसम्मत चयन गर्ने तयारीमा लागेका छन्। पार्टी विभाजनको पीडा भोगेका प्रतिनिधिहरूले विधान महाधिवेशनमा प्रस्तुत विधान संशोधन प्रस्तावमाथि सुझाव दिने क्रममा पदाधिकारीको संख्या बढाउनुपर्ने र सबै पक्षका नेताहरूलाई समेटेर बलियो पार्टी बनाउनुपर्ने बताएका छन्।

अध्यक्षसहित कम्तीमा पदाधिकारीहरू सर्वसम्मत चयन गर्ने व्यवस्था गरिए पार्टी बलियो हुने उनीहरूको सुझाव छ। १०औं महाधिवेशनलगत्तै निर्वाचनमा जानुपर्ने भएकाले विधान महाधिवेशनबाटै पदाधिकारी संख्या थपेर आगामी नेतृत्व चयन सर्वसम्मत बनाउने प्रयास थालिएको हो।

विधान महाधिवेशनमा पार्टी नेतृत्वले अध्यक्षसहित १३ पदाधिकारी प्रस्ताव गरेको भए पनि देशभरका ६ हजार प्रतिनिधिले समूहगत रूपमा छलफल गर्दा पदाधिकारीको संख्या बढाएर कम्तीमा २१ पु¥याई नेताहरू व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका छन्। तीनै तहको निर्वाचनअघि हुन लागेको दसौं महाधिवेशनलाई लक्षित गरेर उनीहरूले यस्तो धारणा राखेका हुन्।

विधान महाधिवेशनमा माओवादी केन्द्रबाट आएका ५ सय ३२ र विगतमा माधव नेपाललाई साथ दिएका तर पार्टी विभाजनतर्फ नलागेका करिब २ हजार प्रतिनिधि सहभागी छन्। यस्तो अवस्थामा पार्टीमा पदाधिकारी संख्या थप गर्नुपर्ने सुझाव दिइएको छ। प्रतिवेदनमा छलफल गर्न १० वटा समूह बनाइएको छ।

पार्टी विभाजनको असर रोक्न र माओवादी केन्द्रबाट एमालेमा आएका नेताहरूको व्यवस्थापन गर्न तथा पार्टीबाहिरको पंक्तिलाई जोड्न पनि प्रतिनिधिहरूले पदाधिकारी थपेर जानुपर्ने सुझाव दिएका हुन्। ‘शनिबार पाँचवटा समूहले सुझाव पेस गरेका छन्, बाँकीको प्रस्तुति आइतबार हुनेछ,’ प्रचार विभाग प्रमुख योगेश भट्टराईले भने। उनका अनुसार पदाधिकारीको संख्या बढाउनुपर्ने, ७० वर्षे उमेर हद कायम राख्नुपर्नेलगायत सुझाव आएका छन्।

पाँच समूहका टोली नेताले वरिष्ठ उपाध्यक्षसहित सात, उपमहाचिव तीन, सचिव सात बनाउनुपर्ने सुझाव दिएका छन्। उनीहरूले पार्टीभित्रको स्वेच्छाचारी प्रवृत्तिकै कारण विभाजन भएको र पटकपटकको विभाजनले नेपाली क्रान्ति र कम्युनिस्ट आन्दोलनलाई क्षति पुग्ने भएकाले त्यसलाई नेतृत्व पंक्तिले सोच्नुपर्ने सुझाव दिएका छन्।

बन्दसत्रको सुरुमै शनिबार केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरा, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष केशव बडालले आ–आफ्नो निकायका तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए। अनुशासन आयोगका अध्यक्ष बोहोराले पार्टीभित्र अराजकता बढेको र त्यसलाई नेतृत्व पंक्तिले नै संरक्षण गरेको तथा स्वेच्छाचारी प्रवृत्ति हाबी भएको बताएका थिए।

महाधिवेशन उद्घाटनको दिन शुक्रबार पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए। तिनै दस्तावेजमा केन्द्रित रहेर शनिबार समूहगत रूपमा छलफल गरिएको थियो।

ती प्रतिवेदनमाथि छलफल र सुझाव प्रस्तुत गर्न केन्द्रीय निकाय र विभाग, सातवटै प्रदेश कमिटी, उपत्यका विशेष कमिटी, सम्पर्क समन्वय कमिटी र जनसंगठन तथा प्रवासको समेत प्रतिनिधित्व रहेको १० वटा समूह बनाइएको छ।

महाधिवेशनको दोस्रो दिन शनिबार पहिलो चरणमा प्रतिवेदनमाथि छलफल र दोस्रो चरणमा ती दस्तावेजमाथि उठेका सुझाव समेटेर पाँचवटा समूहका नेताले राय प्रस्तुत गरेका थिए। नागरिक दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x