प्रधानन्यायाधीश राणाले राजीनामा नदिने अडानपछि अन्योलमा न्यायाधीश
वि.सं.२०७८ कात्तिक १२ शुक्रवार
shares
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा दिनुपर्ने माग गर्दै न्यायाधीशहरूले चार दिनदेखि इजलास बहिष्कार गरेका छन् । इजलास बहिष्कार गरेर प्रधानन्यायाधीशलाई नैतिक दबाब दिए पनि अझै निकास पाउने अवस्था देखिँदैन । प्रधानन्यायाधीश राणाले राजीनामा नदिने स्पष्ट अडान लिएपछि न्यायाधीशहरू अब के गर्ने भन्ने अन्योलमा छन् ।
न्यायपालिका सुधारको काम अघि नबढाएको र राजनीतिक भागबन्डा खोजेको जस्तो विषयले न्यायालयलाई विवादमा पारेको भन्दै न्यायाधीशहरूले राजीनामा मागेका हुन् । न्यायालय सुधारको काम अघि नबढाएको भन्दै न्यायाधीश र नेपाल बार असन्तुष्ट भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशका जेठान गजेन्द्र हमाललाई मन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो ।
प्रधानन्यायाधीश राणाविरुद्ध सुरुमा १४ जना न्यायाधीश उभिएकामा हाल उनको विपक्षमा १९ जना न्यायाधीश एकजुट भएका छन् । सर्वोच्चका न्यायाधीशहरूले सुरु गरेको भद्र अवज्ञा सर्वोच्च बार, नेपाल बार हुँदै सडकसम्म आइपुगिसकेको छ । तर, प्रधानन्यायाधीश राणा भने संवैधानिक प्रक्रियाबाट आफू आएकाले कसैले राजीनामा माग्दैमा नदिने आफ्नो स्पष्ट अडान उनले राखेका छन् ।
प्रधानन्यायाधीश हट्ने अवस्था भनेको पहिलो राजीनामा र दोस्रो अवस्थामा संसद्मा महाअभियोग दर्ता भई दुई तिहाइ संसद्बाट मात्रै हट्न सक्छन् । यीबाहेक प्रधानन्यायाधीशलाई हटाउने अर्को विकल्प छैन । यस्तो अवस्थामा मध्यस्थकर्ता गर्नेको अभाव अहिले खड्किएको छ । राजनीतिक दलहरू पनि तत्काल प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउने पक्षमा देखिँदैनन् ।
सत्तारूढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गरे यता विपक्षी नेकपा एमाले संसद् विघटन बदर गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने अन्य चार न्यायाधीशलाई पनि महाअभियोग दर्ता गर्ने तयारीमा छ । विपक्षी दलको बुझाइ अहिलेको अवस्था आउनुमा प्रधानन्यायाधीश मात्रै नभई परमादेश जारी गर्ने पाँचै जना हुन् भन्ने छ । राजधानी दैनिकमा समाचार छ ।
































