गोली प्रहारबाट घाइते जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधन

काठमाडौं। गोली प्रहारबाट गम्भीर घाइते भएका जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको उपचारको क्रममा मृत्यु भएको छ।

जापानका संचारमाध्यमलाई उदृत गर्दै बीबीसीले आबेको मृत्यु भएको जानकारी दिएको हो।

शुक्रबार बिहान नारा सहरमा आबोमाथि एक कार्यक्रममा आक्रमण भएको थियो। सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। त्यसै क्रममा उनी अचानक भुईँमा ढलेका थिए।

उनलाई पछाडिबाट दुई पटक गोली लागेको थियो। जापानी सञ्चारमाध्यमका अनुसार गोली लागेपछि सिन्जोलाई हृदयघात पनि भएको थियो।

प्रहरीका अपनुसार पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि क्यामेराजस्तो देखिने ह्यान्डहेल्ड बन्दुकले आक्रमण भएको खुलेको छ।

गोली हानाहानपछिको तस्बिरबाट यो खुलासा भएको हो। आक्रमणकारीले बन्दुकलाई क्यामेरा जस्तो देखिने गरी डिजाइन गरेका थिए।

यसका लागि उनले बन्दुकमा कालो पोलिथिन बेरेका थिए। आक्रमणकारीले १०० देखि १५० मिटर टाढाबाट गोली चलाएको भिडियोमा स्पष्ट देखिन्छ।

आक्रमणकारी तस्बिर खिच्ने बहानामा आबेको नजिक आएको विश्वास गरिएको छ। त्यसपछि उनले फायरिङ गरे।

आबेलाई पछाडिबाट दुई पटक गोली लागेको थियो। प्रहरीले घटनास्थलबाट ४२ वर्षीय आक्रमणकारी यामागामी तेत्सुयालाई पक्राउ गरेको छ। आक्रमणकारीसँग अहिले सोधपुछ भइरहेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro