मिति सकिएको सिमेन्ट कसरी थाहा पाउने ?

4.1K
shares

काठमाडौं।घरलगायत विभिन्न भौतिक संरचना निर्माणमा प्रयोग हुने निर्माण सामग्रीमध्ये सिमेन्ट महत्वपूणर् सामग्री हो । बजारमा मुख्यतः दुईथरी सिमेन्ट पाइन्छ- ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) । ओपिसी सिमेन्ट मुख्यगरी ढलान र जगमा प्रयोग हुन्छ । यो सिमेन्ट छिटै सुक्छ । त्यसैले निर्माण छिटो सक्नुपर्ने अथवा फर्मा छिटै खोल्नुपर्ने अवस्थामा ओपिसी सिमेन्ट प्रयोग गरिन्छ ।

भित्ताहरूको प्लास्टरमा पिपिसी सिमेन्ट प्रयोग हुन्छ । निर्माण समय लामो राखिएको छ भने पिपिसी सिमेन्ट ढलानमा पनि प्रयोग गर्न सकिने इन्जिनियरहरू बताउँछन् । बजारबाट सिमेन्ट खरिद गरेर ल्याउनुपहिले त्यसको उपभोग मिति कहिलेसम्म छ भनी थाहा पाउनु अति आवश्यक हुन्छ । मिति सकिएको सिमेन्ट प्रयोग गर्दा घरलगायतका भौतिक संरचना कम्जोर बन्न पुग्छन् । जसका कारण पैसाको क्षतिमात्र नभई ज्यान नै जोखिममा पर्न सक्छ । त्यसैले सिमेन्ट कहिले उत्पादन भएको हो र त्यसलाई कहिलेसम्म प्रयोग गरिसक्नुपर्छ भन्ने थाहा पाउनु आवश्यक हुन्छ ।

सामान्यतया सिमेन्ट बनेको मितिबाट तीन महिनाभित्र प्रयोग गर्नुपर्छ । सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ । यसमा हप्ताअनुसार मिति लेखिएको हुन्छ ।

उदाहरणका लागि सिमेन्ट २०७८ साल वैशाख पहिलो हप्तामा बनेको छ भने यसमा २०७८ र १ लेखिएको हुन्छ । त्यस्तै जेठको पहिलो हप्तामा बनेको भए २०७८ र ५ लेखिएको हुन्छ । यसको अर्थ यो सिमेन्ट २०७८ सालको ५ औं हप्तामा बनेको हो भन्ने हुन्छ । यो मितिबाट तीन महिनाभित्र उक्त सिमेन्ट प्रयोग गरिसक्नुपर्छ । अर्थात् २०७८ र ५ लेखिएको सिमेन्ट २०७८ सालको भदौ पहिलो हप्ताभित्र प्रयोग गरिसक्नुपर्छ ।

त्यसैगरी सिमेन्टको बोरा ठीक छ कि छैन, त्यो पनि हेर्नुपर्छ । बोरामा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ । हावापानी पसेर त्यसको गुणस्तरमा क्षति पुर्याएको पनि हुन सक्छ । अनि संरचना बनाउँदा स्थलमा ल्याएको सिमेन्ट ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ । भण्डारण गर्दा भुइँमा काठको फलेक वा चिसो रोक्ने सामान ओछ्याउनुपर्छ ।

त्यस्तै पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ । पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्न सक्छ । यस्तो सिमेन्ट प्रयोग गरे उक्किने वा संरचना नै कमजोर हुने समस्या आउँछ ।

civil hospital
Hams Hospitals