टेस्टेड जनप्रतिनिधि : स्थानीय तह निर्वाचन

Ghorahi cement

सबैभन्दा बढी जनताको मत प्राप्त गरी गाउँको सिंहदरबारको सिंहासनमा वसी नेतृत्व गर्ने अवसर प्राप्त गरेका स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिदैछ । नेपालको संविधान,२०७२ ले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था बमोजिम तिन तहको सरकार रहने गरी एकात्मक राज्य व्यवस्थालाई संघात्मक राज्य व्यवस्थामा परिणत गर्यो ।

एकात्मक, केन्द्रिकृत राज्यव्यवस्थाले सृजना गरेका सबै प्रकारका विभेद,उत्पिडन र समस्याहरुलाई निराकरण गर्न जनस्तरमा जनताले प्रत्यक्ष अनुभुत गर्न पाउने सरकारका रुपमा स्थानीय तह रह्यो र स्वायत्त रुपमा कानुन निर्माण, योजना निर्माण, कार्यान्वयन लगायतका कार्यहरु गर्न पाउने अधिकारहरु समेत प्राप्त गर्यो ।

नेपालको संविधान २०७२ को अनुसुची ८ मा स्थानीय तहको एकल अधिकारको सुची र अनसुची ९ मा संघ प्रदेश र स्थानीय तहको साझा अधिकारको सुचि राखिएको छ । प्रत्यायोजन गरेको अधिकारहरुको क्षेत्राधिकार भित्र रही अधिकतम कार्यहरु गर्न स्वायत्तता प्राप्त गरेको छ स्थानीय तहले ।

आवश्यक कानुन, नीति निर्माण गर्ने,योजना निर्माण गर्ने, कार्यान्वयनमा गर्ने लगायत धेरै बलियो अधिकारहरु पाएको सरकार हो स्थानीय सरकार अर्थात स्थानीय तह। कतिपय स्थानीय तहको नेतृत्व गर्ने जनप्रतिनिधिहरुले यी पाएको सु-अवसर, अधिकारलाई आत्मसाथ गरी आफ्नो कर्तव्य प्रति तल्लिन भई पहिलो कार्यकालमा राम्रो काम गरी आफ्नो छविलाई अग्रस्थानमा स्थापित गर्न सफल भएका छन् भने कतिले भएको छविलाई पनि स्थापित गर्न सकेनन् ।

जनताले विकास र समृद्धिको साँचो ५ वर्षका लागी निर्वाचित जनप्रतिनिधि हरुलाई सुम्पेका थिए । के कति समृद्धिका आधारहरु उभ्याउन सके त्यसको मुल्यांकन जनताले पक्कै गरेका छन् । जनताले विश्वास गरी नेतृत्व सम्हाल्ने हैसियतमा पुर्याएका ति व्यक्तिहरुले के कति कार्य गर्न सके यसको विषयमा नजिकबाट अनुभुत गर्ने मौका यो ५ वर्षले प्रदान गरेको छ ।

चुनावी रस्साकस्सी,चहलपहल वढेको देखिदैछ । यस ५ वर्ष अनुभव गरेको आधारमा अब राम्रो लाई नेतृत्वमा पुर्याउनुको विकल्प नभएको सिकाई प्राप्त भएको छ । आगामी स्थानीय तहको निर्वाचनमा अघिल्लो कार्यकाल सम्हालेका अर्थात टेस्टेड व्यक्तिहरु पनी आकांक्षीको रुपमा देखिन सक्छन भने कतिपय नयाँ आउलान त्यो त थाहा पाउन बाँकी छ, तर धेरै दिन कुर्नुपर्ने छैन् ।

अघिल्लो कार्यकाल सम्हालेका टेस्टेड जनप्रतिनिधिहरुले पुनः टिकट पाउनुपर्ने आधारहरु के के हुन ? उनीहरुको ५ वर्षभित्रका सवल पक्ष र दुर्वल पक्षहरु के के छन् त्यसलाई केलाउनु आवश्यक छ ।
– नीति निर्माणको सन्दर्भमा समावेशी जन सहभागीता सुनिश्चित गरे या गरेनन् ?

– बस्तीस्तरबाट योजना तर्जुमा गरे या गरेनन् यदी गरे भने समावेशी योजनाहरु र बस्तीस्तरमा उठेका समस्याहरु स्थानीय तहले आफ्नो वार्षिक योजनामा समावेश गर्यो या गरेन?

– निर्वाचित भएको पहिलो वर्ष स्थानीय तहको गुरु योजना, आवधिक योजना, विषयगत योजनाहरु वनाई त्यसको आधारमा विकासको खाका निर्माण गर्न सके या सकेनन्

– सरकारको दिगो विकास लक्ष्य,पन्ध्रौ योजना लगायत अन्य दिर्घकालिन योजनाहरुले लिएको लक्ष्य पुरा गर्न तर्फ उन्मुख योजनाहरु वनाई कत्तिको कार्यान्वयन गर्न सके ? सरकारको दिगो विकास लक्ष्य,पन्ध्रौ योजना र स्थानीय तहको योजना विचमा ट्याली गर्न, आवश्यक सुझाव,पृष्टपोषण लिनका लागी समावेशी जन सहभागीता सुनिश्चित गरी समिक्षा,अन्तरक्रिया बैठकहरु आयोजना गरे या गरेनन् ?

– गरेका निर्णय, भएका कार्यहरुमा पारदर्शीता,शुसासन मुखी बनाउने कार्य गर्न सके या सकेनन् ,

– योजना कार्यान्वयनको सन्दर्भमा उपभोक्ता समिति गठन गर्दा समावेशी सहभागीता थियो की थिएन । ठेक्कापट्टामा, पुर्वाधार विकास सम्वन्धि कार्यहरुमा आँफु र आफ्नाहरुको मात्र हावी थियो या पारदर्शी ढंगवाट राम्रो कार्य गर्ने अन्यलाई पनी अवसर दिईएको थियो ?

– बार्षिक वजेट शतप्रतिशत खर्च गर्न सके या सकेनन् ,

– आर्थिक,सामाजिक,पुर्वाधार,वन वातावरण र विपद व्यवस्थापन, शुशासन र संस्थागत विकासको क्षेत्रमा कस्ता कस्ता उल्लेखनिय कार्यहरु भए ?,

– कत्तिको जनउत्तरदायी वन्न सके, नतिजा प्रति उत्तरदायी भई कार्य गर्न सके या सकेनन्

– राष्ट्रिय अन्तराष्ट्रिय संघसंस्था,निजि क्षेत्र संग समन्वय सहकार्य गरी सरकारी वजेटको अलावा अन्य श्रोतहरु संकलन गरी कार्य गर्न सके या सकेनन् ,

– जनता,नागरिकहरु प्रति प्रस्तुत हुने उनीहरुको शैली ,व्यवहार मा सन्तुलन थियो की थिएन,

– निर्वाचित भएको पहिलो वर्ष तयार गरेको स्थानीय तहको गुरु योजना, आवधिक योजना अनुरुप कति उपलब्धि हासिल गर्न सकियो भनी ५ वर्ष अवधिको मध्यावधि र अन्तिम वर्ष वृहत जन सहभागीतामा छलफल गरी उपलब्धिको स्तर र कार्यसम्पादन मुल्यांकन को अवस्था प्रस्तुत गरे या गरेनन्

– उनीहरुका कार्यसम्पादन, शैली,व्यवहार प्रति नागरिकहरु सन्तुष्ट छन कि छैनन् ?

यी यस्ता विषयहरुको सम्वन्धमा टेस्टेड जनप्रतिनिधि हरुलाई टिकट दिईनु भन्दा अगाडी उनीहरुले अघिल्लो ५ वर्षभित्र गरेका कार्यहरुको प्रभाव मापन गर्नुपर्दछ ।

कुनै पनि पार्टीले प्रभाव मापन नगरी टिकट दियो भने अपेक्षाकृत उपलब्धि हासिल नहुन सक्ने सम्भावना रहन्छ । गाउँ गाउँमा सिंहदरवार आउने र जनताले समृद्धिको अनुभुती गर्न पाउने कुरामा नागरिकहरुले धेरै अपेक्षा गरेका थिए तर गाउँको नेतृत्व गर्ने अधिकांश जनप्रतिनिधिहरुले प्रभावकारी ढंगले काम गर्न नसकेको कारणहरुले गर्दा संघियताले नेपाली जनताको मन जित्न सकेको छैन ।

व्यवस्था, संरचना जति परिवर्तन भए पनी नेतृत्व गर्ने व्यक्तिको सोच नै परिवर्तन हुन सकेन भने चाहेको सकारात्मक रुपान्तरण ल्याउन सकिदैन रहेछ भन्ने सिकाई ५ वर्षको अन्तरालमा आर्जन भएको छ ।

राज्य शासन व्यवस्थाको नेतृत्व गर्ने व्यक्ति छनौट गर्दा सुक्ष्म ढंगबाट गहन रुपमा विश्लेषण गरेर नेतृत्व गर्ने स्थानमा पुर्याउनु पर्दछ । अत्यन्त सरल अनी बौद्धिक, सहनशिल, समन्वय सहकार्यमा सन्तुलन कायम गर्न सक्ने, योजना र विकासको वारेमा बुझेको ,नीति निर्माण तहमा दख्खल प्रस्तुत गर्न सक्ने, विकासको विषयमा परिकल्पना गर्न सक्ने दुरगामी सोच भएको, समस्याको विश्लेषण र समस्यालाई निराकरण गर्न आवश्यक रणनिति हरु तयार गर्न सक्ने, अनुभवी विज्ञता भएका व्यक्तिहरुसँग राय सल्लाह लिई कार्य गर्ने, भ्रष्टाचारमा शुन्य सहनशिलता कायम गर्न सक्ने, सरकारी बजेट अलावा अन्य निकायहरुबाट समेत श्रोतहरु संकलन गरी वढी भन्दा वढी श्रोतहरु विकासका गतिविधिहरुमा प्रयोग गर्न सक्ने र स्वच्छ छवि भएको एक असल जननेताको आवश्यकता छ स्थानीय तहको नेतृत्वमा ।

त्यसकारण आफ्नो गाउँको समृद्धिका खातिरः टेस्टेड जनप्रतिनिधिको हकमा अघिल्लो ५ वर्षमा आहा भन्न लायक काम गरेकाहरुलाई पुन नेतृत्वमा पुर्याउन सहयोगी भुमिका खेलाैं । कार्यसम्पादन मुल्यांकनमा खस्किएका हरुलाई वहिस्कार गर्ने स्वःनिर्णय गरौँ ।

Shangri-la Development Bank Ltd.
Nepali patro