ओलीलाई कारवाही गर्ने प्रचण्ड-माधवको तयारी
वि.सं.२०७७ पुस ७ मंगलवार
shares
काठमाडौं, विभाजनको ढिलमा पुगेको नेकपाका दुवै समूहका केन्द्रीय कमिटी बैठक (आज) मंगलबार बस्ने भएका छन्।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहको बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव नेपाल निकट केन्द्रीय सदस्यहरूको बैठक पनि मंगलबार नै बस्ने भएको छ। प्रचण्ड-नेपालले कार्की ब्यांक्वेट बबहरमहलमा मंगलवार दिउसो १ बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ।
आइतबारको स्थायी कमिटि बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस समेत गरेको थियो । कार्की ब्यांक्वेटमा बस्ने प्रचण्ड-नेपाल समुहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष ओलीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने उच्च श्रोतले गण्डकी टाइम्सलाई जानकरी दिएको छ। ‘आजको बैठकले अध्यक्ष ओलीलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्छ’, श्रोतले भन्यो।
सोमबार भएको आफूनिकट सांसदहरूको भेलामा प्रचण्डले केन्द्रीय कमिटीले ओलीमाथि कारबाही गर्ने बताएका थिए।
ओलीलाई कारवाही गरे पनि उनले भने त्यो स्विकार गर्ने छैनन्। र नेकपा त्यसपछि औपचारिक रुपमा दुई टुक्रामा विभाजन हुने छ।
वि.सं.२०७७ पुस ७ मंगलवार ०९:०५