नेशनल लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित
वि.सं.२०७७ माघ १५ बिहीवार
shares
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । माघ १५ गते सम्पन्न कम्पनीको ३२औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले आ.व. २०७५/०७६को नाफाबाट सो मात्राको लाभांश पाउने छन् ।
कम्पनीका अध्यक्ष प्रेमा सिंहले आव २०७५/७६ मा कम्पनीको सबै वित्तीय सूचकांकहरु सन्तोषजनक रहेको बताउँदै कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले वृद्धि भई ८ अर्ब ५ करोड रुपैयाँ पुगेको र ३५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको सभामा अवगत गराए ।
यसैगरी, आ.व २०७५/७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले वृद्धि भई २ हजार ६८१ करोड रुपैयाँ पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई २०७६ असार मसान्त सम्ममा २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सो आवमा २६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको छ ।
सभामा अध्यक्षले चालु वर्षको बोनस समेत गरी कूल चुक्ता पुँजी ३ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ । कम्पनीको आ.व.२०७५/०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रही सबै बीमालेखमा एक विन्दुले बोनस दर बढाइएको र यसबाट व्यवसायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।
आ.व.२०७५/०७६ मा २५ वटा नँया शाखा खोल्न स्विकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने साथै कम्पनीले व्यवसायीक अभिकर्ता उत्पादन र गुणस्तर बृद्धिमा विशेष जोड दिएको जानकारी गराए । कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएकोे र विविध आकर्षक बीमालेखहरु प्रचलनमा ल्याएको अध्यक्षले सभामा उल्लेख गरे ।
लगानी विविधिकरण गरी लामो अवधिको लगानी वृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हासिल भएको, परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसबाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने अध्यक्षले बताए । व्यवसाय विस्तारसंगै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वमा विशेष ध्यान दिएको र सोही अनुसार विपन्न वर्गका लागि बालिका शिक्षा योजना संचालनमा ल्याएको र सो को अतिरिक्त कम्पनीले निशुल्क वृहत स्वास्थ्य शिविर संचालनमा सहयोग पुर्याएको अवगत गराए ।