पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताए
वि.सं.२०७७ पुस २१ मंगलवार
shares
काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक प्रक्रिया अन्तर्गत प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । मंगलबार प्रदेशसभाको विशेष अधिवेशनमा बोल्दै उनले लोकतन्त्रमा संकट आयो भने जनतामा जाने पद्धति रहेको बताउँदै पार्टीभित्रै पदको सौदावाजी गर्न नहुने उल्लेख गरे । सांसद खरिद बिक्री गरेर फेरि अर्को सरकार बनाउने फोहोरी खेल खेल्नुभन्दा जनतामा जानु राम्रो रहेको उनको भनाई छ ।
प्रदेशसभामा बोल्ने प्रतिपक्षी सांसदहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको बताएपछि उनले विगतदेखि नै पार्टीभित्रका नेताहरुको तँ तँ र म म का कारण बहुमत पाएका प्रधानमन्त्रीहरुले काम गर्न नपाएको उल्लेख गरे । २०४८ साल, २०५१ सालतिर सरकारमा घटेका घटनाजस्तै अहिले नेकपामा पनि घटना घटेको उनको भनाई थियो ।
प्रतिपक्षी दल काँग्रेस र जनता समाजवादी पार्टीको मागका आधारमा मंगलबारदेखि गण्डकी प्रदेशसभाको विशेष अधिवेशन सुरु भएको छ ।