उपभोक्ता ठगी गर्ने २८६ वटा व्यावसायिक फर्मलाई कारबाही

1.2K
shares

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको कामलाई सक्रिय बनाएको छ । व्यावसायीले विभिन्न बहाना बनाएर बढी मूल्य लिई उपभोक्ता ठगी गर्न सक्ने भन्दै विभागले बजार अनुगमनलाई सक्रिय बनाएको हो ।

विभागले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म विभागको नेतृत्वमा ८०७ वटा व्यावसायिक फर्मको अनुगमन गरेको छ । जसमा उपभोक्ता ठगी गर्ने २८६ वटा व्यावसायिक फर्मलाई जरिवाना सहित कारबाही गरेको छ ।

व्यावसायिक फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार कारबाही गरिएको विभागले जनाएको छ । ऐनअनुसार वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा वा बनावटलगायत झुक्याई त्यस्तो वस्तु तथा सेवा बिक्री वितरण गरेमा निरीक्षण अधिकृतले अनुगमन क्षेत्रमै कम्तीमा पाँच हजारदेखि बढीमा तीन लाख रुपियाँसम्म जरिवाना गर्न सकिने व्यवस्था छ ।

त्यसअनुरूप विभागले गएको छ महिनाको अवधिमा उपभोक्ता ठगी गर्ने २८६ वटा व्यावसायिक फर्मको अनुगमन गरेर ‘फिल्ड’ मै ५७ लाख ४६ हजार रुपियाँ जरिवाना तिराएको छ । विभागका अनुगमन अधिकृतको नेतृत्वमा सो अवधिमा गरिएको बजार अनुगमनका क्रममा कैफियत भेटिएका व्यावसायिक फर्मलाई बढीमा तीन लाख रुपियाँ र घटीमा पाँच हजार रुपियाँसम्म जरिवाना तिराएको छ ।

 

विभागले यस अवधिमा १३३ वटा व्यवसायी फर्मलाई स्पष्टीकरण सोधेको र ३३८ वटा व्यावसायिक फर्मलाई सुधार गर्न निर्देशन दिएको जनाएको छ । विभागका अनुसार सो अवधिमा ४७ वटा व्यावसायिक फर्म वा उद्योगमा कारोबार रोक्का वा सिलबन्दी गरिएको भने दुईवटा व्यावसायिक फर्मविरुद्ध मुद्दा दायर गर्ने निर्णयका लागि पठाइएको छ । यस्तै यस अवधिमा बजार अनुगमन गरेर एक करोड ५१ लाख र ६८ हजार ६७३ बराबरको समान नष्ट गरिएको विभागले जनाएको छ ।

civil hospital
Hams Hospitals