संवैधानिक परिषद्को बैठक स्थगित
वि.सं.२०७७ माघ २० मंगलवार
shares
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक स्थगित भएको छ ।
मंगलबार साँझ बोलाइएको बैठक बुधबार बिहान ११ बजेका लागि सारिएको थियो । बुधबार ११ बजे बोलाइएको बैठक पनि स्थगित भएको छ ।
यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाएका थिए ।
सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्नसक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।
संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाएको थियो । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।