प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा सभा गर्दै

वि.सं.२०७७ फागुन १ शनिवार
shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा सभा गर्दैछ । नेकपा लुम्बिनी प्रदेशले आयोजना गर्न लागेको जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
आजको सभा ऐतिहासिक हुने नेकपाका नेताहरूले बताएका छन् । लाखौं जनता जनसभामा सहभागी हुने नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताए । बुटवलको सिद्धेश्वरी मैदानमा हुने आमसभाको सबै तयारी पूरा भएको नेकपा ओली समूहका लुम्बिनी प्रदेश संयोजक तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए ।
पूर्व लुम्बिनी अञ्चल केन्द्रित आमसभामा सहभागी हुन आउनेक्रम बिहानैदेखि सुरु भएको छ । आमसभापूर्व पूर्वपश्चिम राजमार्गको अस्पताल लाइनबाट ऱ्याली निकालिने छ । सभा दिउँसो साढे १२ बजे सुरु हुने छ । सभामा प्रधानमन्त्रीसहित महासचिव विष्णु पौडेल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र मुख्यमन्त्री शंकर पोखरेललगायतले सम्बोधन गर्ने तयारी छ ।
नेकपाले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा सभा गरिसकेको छ ।