नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को मूल्यमा गिरावट

वि.सं.२०७७ फागुन ११ मंगलवार
shares

काठमाडौं । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को मूल्य उचारचढावका कारण क्लोजआउटको समस्या बढ्ने देखिएको छ । एकैदिन उच्च मूल्य घटबढका कारण यस्तो समस्या बल्झिने सम्भावना बढेर गएको हो ।
मंगलबार निफ्राको शेयर सकारात्मक सर्किट लागेर ७ सय २६ रुपैयाँसम्ममा कारोबार भयो । सो मूल्यमा लाखौं कित्ता कारोबार भएपछि मूल्य घटेर नकारात्मक सर्किट लाग्दै ५ सय ९४ रुपैयामा झरेको छ । उच्चतम मूल्यमा खरिद गर्नेले केही मिनेटको अवधिमै करिब १८ प्रतिशत मूल्य गुमाइसकेका छन् ।
निफ्राको शेयर अहिले मूल्य ५ सय ९४ रुपैयाँमा झरेको मात्रै छैन । ७ सय २६ रुपैयाँमा खरिदबिक्री भएको शेयर १८ प्रतिशत घट्दा पनि बेच्न चाहनेको भीड छ । यो समाचार तयार पार्दासम्म बजारको मार्केट डेफ्थमा ६ लाख ४५ हजार कित्ता शेयर बिक्रीमा रहँदा खरिदकर्ता शुन्य अवस्थामा देखिन्थ्यो ।
मंगलबार निफ्राको मूल्य योभन्दा घट्दैन । किनकी दिनको १० प्रतिशत भन्दा बढी मूल्य तलमाथि हुन नपाउने व्यवस्था छ । तर, बुधबार पनि नेगेटिभ सर्किटको अवस्थामा पुग्ने हो भने मूल्य घटेर ५ सय ३५ रुपैयाँमा आउँछ । यसले गर्दा अधिकतम मूल्यमा शेयर बेच्नेले २६ प्रतिशतभन्दा बढी गुमाउनुपर्छ ।
अहिले खरिद गरिएको शेयरको रकम भुक्तानी नगरेमा वा बिक्री भएको शेयर खातामा नभएमा २० प्रतिशत जरिवाना लाग्ने व्यवस्था छ । यसलाई क्लोजआउट भनिन्छ । २० प्रतिशत जरिवाना तिर्दा बढी फाइदा हुने भएपछि यो समस्या दोहोरिनसक्ने सम्भावना देखिएको छ ।
स्टक ब्रोकर एशोशिएसनका निवर्तमान अध्यक्ष भरत रानाभाट आजकै मूल्यका कारण क्लोजआउटको समस्या नहुने भए पनि २/३ दिन निरन्तर मूल्य घट्ने हो भने चाहिँ यो समस्या आउन सक्ने बताउँछन् । यद्यपि बजार भनेकै जोखिम मोल्ने ठाउँ भएकोले यसबाट आत्तिन नहुने उनको भनाइ छ ।
क्लोजआउटको समस्या बढ्दै गर्दा शेयर बजारप्रतिको विश्वसनीयता घट्छ । त्यसैले नियामक निकायले यसलाई रोक्न विभिन्न प्रयास गरिरहेका छन् । प्रयासका बाबजुद अपेक्षित सफलता हासिल हुन नसकिरहेको नियामक निकायकै स्वीकारोक्ति छ । अहिलेको जस्तो अस्वभावित उतारचढावले यसमा थप समस्या निम्तिने चिन्ता सरोकारवालाहरुको छ ।