म माथि कुनै शारीरिक हमाला भई हाल्यो भने पनि अनौठो नमान्नु

1.3K
shares
Nabil bank

 

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले देश योजनाबद्ध विकासमा अघि बढेकाले अब सानातिना कुरामा अल्झन जरुरी नभएको बताएका छन् ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले विगत तीन वर्षमा मुलुक असाधारण कामको वेगमा अघि बढेकाले आफूमाथि प्रहार भएको बताए । प्रधानमन्त्री ओलीले भने, “देश योजनाबद्ध तरिकाले अघि बढेको छ, पहिला एक वर्षमा १० किलोमिटर बाटो बन्थ्यो तर अहिले एक दिनमा ५.७ किलोमिटर बाटो कालोपत्र भएको छ । कृषिमा आधुनिकीकरण एवं व्यवसायीकरण हुँदैछ, देश विकासको गतिमा अघि बढेकाले म माथि प्रहार भइरहेको छ ।”

 

विकास विरोधीले आफूमाथि लागेको उल्लेख गर्दै उहाँले यदि म माथि कुनै शारीरिक हमाला भई हाल्यो भने पनि अनौठो नमान्नु तर केही हुँदैन हामी सर्तक छौँ । म रहिन भने पनि केही छैन । पार्टी छ, आन्दोलन छ । यस आन्दोलनलाई प्रतिक्रियावादी तत्व र तिनका मतियारसँग घुडा टेक्न दिनुहुँदैन भने ।

 

प्रधानमन्त्री ओलीले पार्टी र देशको भविष्य अन्धकारमा जान दिन नहुने भन्दै कार्यकर्तालाई चनाखो हुन आग्रह गरे । उनले भने, “केहीले तपाईंहरु सबै छोड्दिनुस, अनि पार्टी एकता हुन्छ भनेका छन् तर हामी हरेक परिस्थितिको सामना गरेर देशको रक्षा गर्न पूर्ण प्रतिबद्ध छौँ ।” उनले अहिले लोकतान्त्रिक मूल्यमान्यता नभएका अपराधिक तत्वको सामाना गर्नुपरेको उल्लेख गर्दै आफू विरुद्ध १९ पृष्ठ लामो झुटा आरोपको पुलिन्दा तयार गरेर विश्वव्यापी प्रचार गरेको बताए ।

 

प्रधानमन्त्री ओलीले आन्दोलनले शुद्धिकरण र सुदृढीकरण गर्ने भएकाले यो आजको आवश्यकता हो भने । माधव–प्रचण्ड समूहले केन्द्रीय सदस्यको बहुमत दाबीको गरेको विषयमा अध्यक्ष ओलीले भने, “एकताको लागि देश बनाउन मैले नै दिएको हुँ । मैले मेरो पक्षको बहुमत हेरिन, चाहेको भए सक्थेँ, आन्दोलनलाई बलियो बनाउन र देशको लागि अघि बढौँ भनेर दिएँ तर एकीकरण गरिसक्ने वित्तीकै आफ्नो धन्दा शुरु गरे ।”

 

उनले देशका लागि नभई अरु कसैका लागि ‘कम्फर्टेबल’ सरकार बनाउने योजना माधव–प्रचण्ड समूह लागिपरेको बताए । प्रधानमन्त्री ओलीले आफू विरुद्ध अविश्वासको प्रस्ताव ल्याएर हटाउन चुनौती दिए । “सक्नुहुन्छ भने अविश्वासको प्रस्ताव राखेर हटाउनुहोस् । गल्हत्याउन खोजेर बलियो नै ठान्नुहुन्छ भने कुस्तीमा खेलेर जित्ने नियम बनाउनुहोस्”, उनले भने ।

 

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको निर्णयलाई आफूले स्वीकारेको बताउँदै ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारालाई साकार पार्न शिक्षा, स्वास्थ्य, रोजगार, पूर्वाधार विकासलगायत मुलुक अघि बढेकाले अब डेढ वर्षपछि दुई तिहाई मत ल्याउने दाबी गरे । देशले शान्ति चाहेको बताउँदै उनले नेत्र विक्रम चन्द समूहसँग छिट्टै वार्ता हुने जानकारी दिए । सो अवसरमा चन्द समूहसहित अन्य पार्टीका करिब १०० कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका थिए । रासस

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited