भारतीय अभिनेता आमिर खानसहित चारजनाविरुद्ध मुद्दा दर्ता

वि.सं.२०७७ फागुन २० बिहीवार
shares

एजेन्सी । भारतीय अभिनेता आमिर खानसहित चारजनाविरुद्ध मुद्दा दर्ता भएको छ । आमिरको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’लाई लिएर मुद्दा दायर गरिएको हो ।
दुई वर्षअघि सार्वजनिक भएको चलचित्रसँग जोडिएका ४ व्यक्तिका विरुद्ध कानुनी नोटिस जारी गरिएको हो ।
उनीहरूमाथि जातिमाथि अपमान गरेको आरोप लागेको छ । चलचित्रमा मल्लाह जातिलाई अपमान गरेको आरोपमा जौनपुर अदालतका न्यायाधीश मदन पाल सिंहको इजलासले मङ्गलबार चलचित्रका अभिनेता आमिर तथा निर्माता आदित्य चोपडाविरुद्ध कानुनी पत्र जारी गरेका हुन् । पत्रमा उल्लेख भएअनुसार यो मुद्दामा आगामी सुनुवाइ अप्रिल ८ मा हुनेछ ।
जौनपुर अदालतमा हंसराज चौधरीले आमिरसहित आठ जनाविरुद्ध याचिका दर्ता गराएका थिए । उनले निर्देशक विजय कृष्णा, अभिनेता आमिर र निर्माता आदित्य चोपडाविरुद्ध चलचित्र रिलिजलगत्तै उजुरी दर्ता गराएका थिए । चलचित्रमा मल्लाह जातिलाई फिरंगी र ठगजस्ता शब्दले सम्बोधन गरेर पूरा मल्लाह जातिको छविमा असर पुर्याएको उनको आरोप छ ।