ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा ११ लाख ५९ हजारको आवेदन

वि.सं.२०७७ फागुन २३ आइतवार
shares

काठमाडौं । शुक्रबारदेखि विक्रीमा आएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आइतबार साँझ ५ बजेसम्ममा ११ लाख ५९ हजार ७ सय ३ जना आवेदकबाट २ अर्ब ५३ करोड ४६ लाख ४१ हजार रुपैयाँ बराबरको २ करोड ५३ लाख ४६ हजार ४ सय १० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड जनाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन गरेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ३ लाख ३३ हजार कित्ता कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि सुरक्षित राखेको छ ।
यसअघि फागुन २३ गतेदेखि विक्री खुला गर्ने मिति तय गरेको कम्पनीले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको निर्देशनमा दुई दिन अघिनै विक्री खुला गरेको हो । छिटोमा फागुन २६ गते र ढिलोमा चैत ६ गतेसम्म विक्रीमा रहने यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।
विक्री प्रबन्धकसँगै आस्बा सेवा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीको यस आईपीओलाई केयर रेटिङले वित्तीय दायित्व समयमै पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित अवस्थाको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ प्रदान गरेको छ । जीवन बीमा कम्पनीहरुले कायम गर्नुपर्ने तोकिएको चुक्तापूँजी २ अर्ब रुपैयाँ कायम गर्न कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्न लागेको हो ।
हाल ७० प्रतिशत संस्थापक तर्फबाट चुक्ता भएको पूँजी १ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको आईपीओ पश्चात चुक्तापूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष ०७६÷७७ सम्म प्रतिशेयर नेटवर्थ १३२ दशमलव ९४ रुपैयाँ र प्रतिशेयर आम्दानी १२ दशमलव ६५ रुपैयाँ रहेको छ । यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ६४ लाख १ हजार रुपैयाँ छ ।