सर्वोत्तम सिमेन्टको ६० करोडको आईपीओ आउँदै

1.3K
shares

काठमाडौं । बुक विल्डिङमार्फत प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरिरहेको सर्वोत्तम सिमेन्टले सर्वसाधारण लगानी कर्तालाई संस्थागत लगानीकर्ताको भन्दा १० प्रतिशत कममा शेयर बिक्री गर्ने भएको छ । ७५० रुपैयाँ योग्य संस्थागत लगानीकर्ताको लागि शेयर जारी गर्न आशय मूल्य निर्धारण गरेको कम्पनीले सर्वसाधारणको लागि भने यसको १० प्रतिशत कम अर्थात ६७५ मा शेयर निष्काशन गर्न सक्ने सर्वोत्तम सिमेन्टका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले जानकारी दिए ।

 

‘हामीले आन्तरिक रुपमा योग्य संस्थागत लगानीकर्ताको लागि प्रतिकित्ता अनुमानित मूल्य ७५० रुपैयाँ राखेका हौं,’ उनले भने ‘यो मूल्य भने क्युआइआइ (क्वालिफाइड इन्टिच्युसनल इन्भेष्टर) बाट अनुमोदन भएपछिमात्रै फाइनल हुन्छ । हामी यसलाई फाइनल गर्ने अन्तिम तयारीमा जुटेका छौं ।’

 

बुक बिल्डिङमा जानु पूर्व कम्पनीले बुक बिल्डिङ निर्देशिका,२०७७ को दफा ६ अनुसार नियमावलीको अनुसूची ५ बमोजिम विवरण पत्र र उक्त विवरण पत्रमा आफ्नो अनुमानित मूल्य र मुल्यांकनको आधार र औचित्य खुलाइ क्युआइआइ सामु दावी राख्नुपर्ने व्यवस्था गरेको छ । यद्यपि कम्पनीले दाबी गरेको मूल्यकै आधारमा उनीहरूले लिने वा त्यो भन्दा कम मूल्यमा बोली लगाउने भन्ने यकिन भने क्युआइआइले गर्नेछ ।

 

कम्पनीले तोकेको आशय मूल्यमा योग्य संस्थागत लगानीकर्ताले विडिङ गरेर ‘कटअफ प्राइस’ तोकिएपछि मात्रै सर्वसाधारणका लागि मूल्य तय हुन्छ । बुक विल्डिङ प्रणाली अनुसार धितोपत्र बोर्डमा सूचिकृत योग्य संस्थागत लगानीकर्ताले आशय मूल्यको २० प्रतिशतसम्म तल्लो वा माथिल्लो सीमासम्ममा विडिङ गरेर मूल्य तय गर्न सक्नेछन् ।

 

प्रक्रिया सकिएपछि निर्धारण भएको मूल्यको आधारमा कम्पनीले शेयर निष्काशन अनुमतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने दाहालले जानकारी दिए । बोर्डले दिएको स्वीकृतिको आधारमा क्युआइआइले ४० प्रतिशत र एनआइआइ (नन् इन्टिच्युसनल इन्भेष्टर) ले ६० प्रतिशत पाउनेछन् ।

 

क्युआइआइले तय गरेको भन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारणले शेयर पाउने छन् । सर्वसाधारणलाई कम्तीमा ५० कित्ता शेयर दिनुपर्नेछ ।

गोला प्रथाबाट बाँडफाँट गर्नु पर्ने अवस्था रहे पनि सर्वसाधारणले ५० कित्ताभन्दा कम शेयर पाउने छैनन् । कम्पनीले ६० करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्नेछ ।

civil hospital
Hams Hospitals