मेलम्चीको पानि बागमतीमा हालिएपछि खोला बढेको
वि.सं.२०७७ फागुन २६ बुधवार
shares
काठमाडौं, २४ फागुन । मेलम्ची खोलाबाट २६.५ किमी लामो सुरुङ हुँदै ल्याइएको पानी सुन्दरीजल प्रशोधन केन्द्रबाट बागमतीमा हालिएपछि पानी बढेको छ । मेलम्ची खोलाबाट २६० लिटर पानी प्रतिसेकेण्ड आएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । यहीँ फागुन २२ गते शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले पानी बागमतीमा हालेछिि पशुपति क्षेत्रसम्मको नदी केही सफा देखिएको छ ।
नदीमा जमेको कालो लेदो बागमतीमा बहाव बढेपछि बगाएको देखिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिइन् । बागमतीमा मेलम्चीको पानी हालेपछि बहाव बढेको देखिए पनि नदीको चौडाइ फराकिलो भएको स्थानमा भने ढाकिएको छैन ।
यही फागुन २६ गतेदेखि मेलम्चीको पानी बहाव बढाएर पशुपतिसम्म स्वच्छ बनाउने योजना रहेको प्रधामन्त्री ओलीले कार्यक्रममा सुनाएका थिए । सुरुङ नभरिएसम्म पानी नबढाइने मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर बर्मलाल राजभण्डारीले जानकारी दिएका छन ।
वर्षामा आकाशको पानीले बागमती भरिने गरे पनि हिउँदमा नदी कुलोमा सीमित हुन्छ । सुन्दरीलबाट उपत्यकामा खानेपानी ल्याइएपछि बागमतीमा थोरै पानी बग्ने गरेको छ । हिउँदमा पनि नदीमा पानी बगाउन शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बाँध निर्माण भइरहे पनि पूरा हुन सकेको छैन । नदी सफा बनाउन पानीको बहाव बढाइनुपर्ने आवाज उठे पनि पूरा हुन सकेको छैन ।