खाने तेलको मूल्य २० प्रतिशतले वृद्धि
वि.सं.२०७७ चैत ३० सोमवार
shares
काठमाडौं । चालू आर्थिक वर्षको आठ महिनासम्म आइपुग्दा खाने तेल मूल्य २० प्रतिशतले बढेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको आठ महिनाको समीक्षा रिपोर्ट सार्वजनिक गर्दै यस्तो तथ्याङ्क प्रस्तुत गरेको छ।
वि.स. २०७७ फागुनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.०२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.८० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४१ प्रतिशत रहेको छ ।
वि. स. २०७६ फागुनको तुलनामा २०७७ फागुनमा घ्यू तथा तेल, फलफूल, सुर्तीजन्य वस्तुहरू र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः १९.९७ प्रतिशत, १३.६७ प्रतिशत, १०.४१ प्रतिशत र १०.१७ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा २.५० प्रतिशत, तराईमा ३.२५ प्रतिशत, पहाडमा ३.४० प्रतिशत र हिमालमा १.१४ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ फागुनमा यी क्षेत्रहरूमा क्रमशः ७.६१ प्रतिशत, ६.८४ प्रतिशत, ५.५३ प्रतिशत र ५.४२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।
२०७७ फागुनमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ६.३० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.५७ प्रतिशत रहेको थियो ।
































