एमालेमा कारबाही सुरु
वि.सं.२०७८ वैशाख ११ शनिवार
shares
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग असहमति राखेर समानान्तर गतिविधि गरिरहेका अर्को पक्षका नेताहरूलाई ‘कडा कारबाही’ गर्ने सिलसिलाको सुरुआत गरेका छन् । यसअघि चैत ८ मा एउटै नेतालाई तीन पटकसम्म स्पष्टीकरण सोधेका ओलीले विपक्षी धारका नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही थालेका हुन् ।
गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फेल गराउन फ्लोर क्रस गरेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले शुक्रबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यसलाई ओली नेतृत्वको एमालेले कडा कारबाहीको रूपमा व्याख्या गरेको छ ।
१० औं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बसेको बैठकपछि प्र्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधिएकामध्ये संघीय संसद्का अधिकांश सांसदको स्पष्टीकरण आइसकेको र उनीहरूको सन्दर्भमा के गर्ने भनेर थप अध्ययन गरी निर्णय गर्न आयोजक कमिटीले स्थायी कमिटीलाई जिम्मा दिएको बताए । ‘एक खालको संकेत यहाँहरूले पाइसक्नुभएको छ, पार्टीको निर्देशन नमान्ने कर्णाली प्रदेशका साथीहरूलाई हामीले कडा कारबाही गरेका छौं । त्यो खालको स्थिति नआओस् भन्ने हाम्रो प्रयास छ, बैठकमा साथीहरूको संख्या अझ थपिँदै छ,’ उनले भने, ‘साथीहरूले आन्दोलन र आफैंलाई नोक्सान गर्ने निर्णय गर्नुहुन्न भन्ने विश्वास छ ।’
यो समाचार कान्तिपुर दैनिकमा छ ।




























