Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा

1.5K
shares

काठमाडौँ, नयाँ भेरियन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्गको निर्माण नियमित गतिमा नै भइरहेको छ । विश्वव्यापी महामारीको समयमा समेत आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण अघि बढाइएको आयोजनाले जनाएको छ ।

आयोजनामा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरिएकाले विगत महिनामा जस्तै अहिले पनि यहाँ ६५० भन्दा बढी कामदार कार्यरत छन् । अहिले निर्माणस्थलमा बाहिरबाट कोही पनि सकेसम्म नआउने र आउनै पर्ने व्यक्ति पनि स्वास्थ्य जाँच गरेर मात्रै आउन दिइएको आयोजना प्रमुख नरेशमान शाक्यले बताउनुभयो । बाहिरबाट जानैपर्ने व्यक्तिलाई ज्वरो जाँच गरेर मात्रै छिर्न दिइने गरिएको छ । आयोजनामा सम्बन्धित व्यक्तिबाहेक बाहिरबाट आगन्तुक जान रोक लगाइएको छ । उहाँले भन्नुभयो, “अहिलेको अवस्थालाई विचार गरेर हामी पनि आवश्यक हुँदा मात्रै जाने गरेका छौँ ।”

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरिएको र त्यति गर्दागर्दै कसैलाई सङ्क्रमण भएको शङ्का लागेमा छुट्टै बस्नका लागि व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ । निर्माणस्थलमा नै २५ जना क्षमताको १० कोठाको आइसोलेशन बनाइएको छ । तीन ठाउँमा २५/२५ जना बस्न सक्ने गरी छुट्टाछुट्टै क्याम्पको व्यवस्था मिलाइएको छ । कोही व्यक्ति सङ्क्रमित भइहालेमा उसलाई तत्काल छुट्याएर राखिने प्रमुख शाक्यले बताउनुभयो ।

निर्माणस्थलमा कार्यरत व्यक्तिलाई समस्या आउँदा तत्काल समाधान गर्न अक्सिजन सिलिण्डर र मेडिकल टोली पनि व्यवस्था रहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । मेडिकल टोलीमा अहिलेसम्म चिकित्सक नभएकामा त्यसको पनि आवश्यक रहेकाले ल्याउने योजना रहेको उहाँले बताउनुभयो । आवश्यक पर्दा एम्बुलेन्स पनि तयारी रहेको बताइएको छ । उहाँले भन्नुभयो, “हामीले सकेसम्म आवश्यक पर्ने सबै कुराको व्यवस्था मिलाइएको छ ।”

निर्माणस्थलमा अहिलेसम्म जनशक्ति र निर्माण सामग्रीको अभाव छैन । निषेधाज्ञामा व्यवस्था गरिएअनुसार निर्माण सामग्री रातको समयमा ल्याउने गरिएको छ । निषेधाज्ञाको नियम पालना गरेर काम भइरहेको प्रमुख शाक्यले जानकारी दिनुभयो । निर्माण सामग्री उत्पादन गर्ने ठाउँमा कोभिडले अवरोध गरेर रोकिए पनि अहिलेसम्म निर्माणस्थलमा कुनै पनि किसिमको अवरोध छैन । उहाँले भन्नुभयो, “अहिले जोखिमलाई विचार गरेर साइटबाट अन्यत्र सङ्क्रमण नसरोस् भनेर ध्यान पु¥याइएको छ ।”

गत महिनासम्म काम गरिरहेका कामदारमध्ये कोही पनि अहिलेसम्म निर्माणस्थल छाडेर गएका छैनन् । कामदार निर्माणस्थलभित्र नै क्याम्पमा बसेर काम गरिरहेका आयोजनाले जनाएको छ । बाहिरबाट आवतजावत कम गर्दा सङ्क्रमण फैलन सम्भावना कम हुने भएकाले सकेसम्म अरुलाई पनि भित्र बस्ने व्यवस्था मिलाइएको छ । प्रयोगशाला प्राविधिक (ल्याब टेक्निसियन) सामान्य अवस्थामा बाहिरबाट आउजाउ गरेकामा अहिले भित्र बस्न व्यवस्था मिलाइएको छ । नेपाली र जापानीलाई थोरै सङ्ख्यामा मात्रै पास दिइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पाँच गाडीलाई पास दिएर कम आवतजावत गरिएको छ ।”

सुरुङ निर्माणको काम अहिलेसम्म तोकिएको तालिकाभन्दा एक महिना पछाडि रहेको छ । गत आवमा कोभिडका कारण लामो समयसम्म निर्माणमा अवरोध भए पनि तालिकाभन्दा कम मात्रै पछाडि रहेको छ । निर्माणस्थलमा काठमाडौँ र धादिङ गरी दुवैतर्फबाट सुरुङ खन्ने काम भइरहेको आयोजनाले जनाएको छ । धादिङतर्फ माटो फिलिङ गरेपछि दुवैतर्फबाट खन्ने योजना बनाइएको थियो । तर सुरुङभित्र माटो लैजान भित्र जाम हुने भएकाले अहिले कहिले काठमाडौँतर्फ त कहिले धादिङतर्फ खन्ने काम भइरहेको छ ।

सुरुङ खन्नका लागि पाँच थान उपकरण भए पनि तीन थान प्रयोग भइरहेका छन् । अहिले धादिङमा निर्माणाधीन ‘अण्डरपास’ सकिएपछि चार ठाउँबाट काम गर्न सकिने उहाँले बताउनुभयो । उहाँका अनुसार त्यसपछि कामको गति अझै बढ्नेछ । धादिङतर्फ ‘अण्डर पास’ बनिरहेकामा एक महिनामा सकाउने योजना रहेको छ । काठमाडौँमा सुरुङको मुखमा ‘ओभरपास’ निर्माणाधीन रहेकामा सकिने अवस्थामा पुगिसकेको छ ।

बलम्बुमा एउटा ‘फ्लाइओभर’ निर्माण गर्नुपर्ने छ । त्रिभुवन राजमार्गबाट मोडिएर सुरुङमार्ग जाने बाटोमा ‘फ्लाइओभर’ को योजना रहेको छ । सो निर्माणका लागि जग्गाको मुआब्जाको काम सङ्क्रमण बढेकाले रोकिएको छ । उहाँले भन्नुभयो, “सङक्रमण बढेर निषेधाज्ञा हुँदा हामीले पनि जिल्ला प्रशासन कार्यालयलाई काम अघि बढाउनु भन्न सकेका छैनौं ।”

निर्माणस्थलमा अहिलेसम्म निर्माण सामग्रीको समस्या छैन । जापानबाट आउनुपर्ने अधिकांश ठूला उपकरण आइसकेका छन् । अन्तिम काम ९फिनिसिङ०को केही सामग्री मात्रै ल्याउन बाँकी रहेको आयोजनाले जनाएको छ । जापान सरकारको ‘सफ्ट लोन’मा ४२ महिनामा सो सुरुङको निर्माण सम्पन्न गर्ने गरी नेपाल सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच सम्झौता भएको थियो ।

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुङ्गा–नौबिसे सडकखण्डमा दैनिकरूपमा हुने जाम हट्ने अपेक्षा गरिएको छ । सुरुङमार्ग खन्दा आएका मजबुत ढुङ्गा र माटो त्यहीँ निर्माणका क्रममा प्रयोग हुने बताइएको छ । कमजोर ढुङ्गा र माटोलाई भने सिस्नेखोलामा भरेर सोही स्थानमा ‘सर्भिस सेन्टर’ निर्माण गरिनेछ । सो स्थानमा बसपार्क, तरकारी सङकलन केन्द्रलगायतका स्टल हुने बताइएको छ ।

civil hospital
Hams Hospitals