इन्द्रावती खाेलामा सन्चालित क्रसरमा गाउँपालिकाकाे अनुगमन
वि.सं.२०७८ जेठ ४ मंगलवार
shares
सिन्धुपाल्चोक। इन्द्रावती गाउँपालिकाले आफ्नो क्षेत्र भित्र सन्चालनमा रहेकाे क्रसर उद्योगहरुको अनुगमन गरेको छ । अवैध रुपमा उत्खनन् भइरहेको भन्ने स्थानियको ब्यापक गुनासो र खोलाको धारनै परिवर्तन हुनेगरि उत्खनन गरेको पाइएपछि अनुगमन गरिएको गाउँपालिकाले जनाएको छ ।
अनुगमनका क्रममा गाउँपालिकाले तोकेको अधिकतम २ मिटर भन्दा पनि गहिराइमा उत्खनन् गर्ने २ वटा स्काभेटरलाई नियन्त्रणमा लिएको गाउँपालिकाका इन्जिनियर राजाराम घोरसैनिले जानकारी दिनुभयो ।
उत्खनन लागि अनुमति पाएका गाउँपालिका भित्रका ५ वटा क्रसरहरु मध्ये अवैध उत्खनन् गरिरहेका थ्रीजि क्रसर उद्योग र लजदेवि स्टोन प्रालिको स्काभेटर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । २ वटा स्काभेटर लाई आवश्यक कारवाही लागि प्रक्रिया अगाडि बढाइने इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरिक्षक सञ्जिब योन्जनले बताउनुभयो ।
यसभन्दा अघिपनि गाउँपालिकाले पटक पटक अनुगमन गरि अवैध रुपमा उत्खनन् नगर्न निर्देशन दिदै आएको थियो । क्रसरको लागि छुट्याइएको एरिया भन्दा पनि बाहिर र मापदण्ड भन्दा विपरित सञ्चालित क्रसरलाई आवश्यकता अनुसार कारबाही गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री कृष्ण पौडेलले जानकारी दिनुभयो । यस अघि राेडियाे मेलम्ची मार्फत रिपोर्ट प्रशारण गरिएकाे थियाे ।
































