स्पेनले दिएकाे १४ करोडको स्वास्थ्य सामग्री काठमाडौं उड्यो

काठमाडौं । स्पेनले नेपाललाई १४ करोड मूल्य बराबरको अत्यावश्यकीय स्वास्थ्य सामग्री दिएको छ । आइबेरिया एयरको चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने स्वास्थ्य सामग्री आज दिउँसो नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेकी छिन् ।

भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीईलगायतका स्वास्थ्य सामग्री स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । अमेरिका र युरोपका अरू देशले समेत जतिसक्दो छिटो नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालिसकेका छन् ।

जर्मनी, स्विट्जरल्याण्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको छ । यस्तै मध्यपूर्वका विभिन्न देशले पनि नेपालका लागि आवश्यक स्वास्थ्य सहयोग दिने भएको छ । अहिले त्यस क्षेत्रका अधिकांश देशमा इद पर्व चलिरहेकाले केही ढिलाइ भएको तर छिट्टै नै मध्यपूर्वका नेपालका मित्र राष्ट्रले स्वास्थ्य सहयोग पठाउने प्रतिबद्धता आइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ । युरोपियन युनियन र स्पेनले पनि नेपाललाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro