कोरिया जाने श्रमिकको कोभिड बीमाका लागि आह्वान

1.4K
shares

वैदेशिक रोजगार विभाग मातहतमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले पाँच हजार डलरको कोभिड–१९ को बीमा गर्न इच्छुक बीमा कम्पनीलाई दर्ता हुन आग्रह गरेको छ ।

शाखाले सूचना सार्वजनिक गर्दै दक्षिण कोरिया जाने श्रमिकका लागि सो रकम बराबरको कोभिड–१९ को बीमा गर्ने कम्पनीलाई आह्वान गरेको हो । ईपीएस सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७३ को दफा २० बमोजिम दक्षिण कोरिया जाने श्रमिकको कोरिया पुगेको मितिबाट १४ दिनसम्मका लागि सो रकमको बीमा गराउनुपर्ने तोकिएको छ ।

साथै शाखा कार्यालयले उक्त तोकेबमोजिमको बीमा प्रिमियमबापतको रकम कुनै सेवा शुल्क नलिई र नकटाई सेवा प्रदान गर्न इच्छुक बीमा कम्पनीहरूले साउन ७ भित्र कोरिया शाखामा सूचीकृत संस्था दर्ताका लागि आधिकारिक कागजातको प्रतिलिपिसहित निवेदन दिन आग्रह गरेको छ ।

ईपीएस कोरिया शाखाका निर्देशक इन्द्र गौतमले कोरिया सरकारले गत वर्षबाट श्रमिकको अनिवार्य कोभिड–१९ को बीमा गर्नुपर्ने व्यवस्था गरेकाले नेपालले आन्तरिक रूपमा सो रकम बराबरको बीमा गर्ने कम्पनीलाई सूचीकृत हुन सूचना जारी गरिएको जानकारी दिए । त्यस्तै बीमा कम्पनीलाई पाँच हजार डलरको प्रिमियम तोकेको अवस्थामा लाग्ने बीमा शुल्क श्रमिकले नै तिर्नुपर्ने उनले बताए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

civil hospital
Hams Hospitals