अफगानिस्तानलाई तालिवानकै जिम्मा लगाएर बाहिरियो अमेरिका
वि.सं.२०७८ भदौ १६ बुधवार
shares
सोमबार राति अमेरिकी सेनाको अन्तिम कार्गाे विमानले कावुलस्थित हमिद कारजई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेसँगै तालिवान विरुद्ध अमेरिकाले दुई दशकअघि सुरु गरेको सैन्य मिसनको अन्त्य भएको छ। संयोग कस्तो भने सन २००१ सेम्टेम्बर ११ मा ट्वीन टावरमा आतंकवादी हमला भएपछि अमेरिकाले अफगानिस्तानमा अलकायदा र तालिवानविरुद्ध सैन्य कारबाही सुरु गरेको थियो।
सोमबार राति अमेरिकी सेनाको अन्तिम टोलीले अफगानिस्तान छोड्दै गर्दा सम्पूर्ण अफगानिस्तानसहित अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थल समेत तालिवानी लडाकुको पहुँचमा पुगिसकेको थियो।अर्थात् तालिवानविरुद्धको लडाइँमा ठूलो जनधनको क्षति व्योहोरेको अमेरिकाले अन्ततः दुई दशकपछि अफगानिस्तानलाई अन्योलतामा छोड्दै विद्रोही समूह तालिवानकै जिम्मा लगाएको छ।
तालिवानले अफगानिस्तानमा कब्जा गरेसँगै ठूलो संख्यामा अफगानीहरूले मुलुक छाडेपनि अझै दशौं हजार मुलुक छोड्न चाहने त्यहाँका नागरिक, सुरक्षा निकायका पूर्वसदस्यहरू तथा अमेरिका प्रवेश आज्ञापत्र रहेकाहरूलाई बीचमै छाडेर अमेरिकी सेना अफगानिस्तानबाट बाहिरिएको छ। तालिवान नियन्त्रित अफगानिस्तानमा उनीहरूको अवस्था के हुन्छ र लानिवानको शासनकालमा समग्र अफगानिस्तान कसरी अघी बढ्छ भन्ने अन्यौलता कायमै रहेको छ।
अमेरिकाले दुई दशक लामो सैन्य मिसनलाई अन्त्य गर्दै अफगानिस्तान छाडेसँगै अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लीङकेनले अफगानिस्तानसँगको सम्बन्धमा नयाँ अध्याय सुरु भएको बताए। ‘अब हामी कुटनीतिक हिसाबले अघि बढ्छौं, सैन्य मिसन अन्त्य भएको छ,’ उनले भनेका छन्। अमेरिकी सेनाले अफगानिस्तान विमानस्थल छाडेसँगै तालिवानका प्रवक्ता जाविहुल्लाह मुजाहिदले मुलुकले पूर्ण स्वतन्त्रता प्राप्त गरेको बताए। ‘अमेरिकी सैनिकहरू कावुल विमास्थलबाट प्रस्थान गरेका छन्। हाम्रो मुलुकले पूर्ण स्वतन्त्रता प्राप्त गरेको छ,’ उनले ट्वीटर मार्फत भनेका छन्।
तालिवानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएसँगै नयाँ सरकार गठनका लागि काम गरिरहेको जनाएको छ। अमेरिकी सैनिकले २० वर्ष पछि अफगानिस्तान छाडेसँगै तालिवान प्रवक्ता मुजाहिदले राष्ट्रिय एकताका लागि आग्रह गरेका छन्। उनले आपसमा भएका मत भिन्नतालाई छोडेर एकै ठाउँ आउन अफगान नागरिकहरूलाई निर्देशन दिएका छन्।
यदि देशका जनताकाबीचमा एकता नभएमा अन्तर्राष्ट्रिय समुदायले सहयोग नगर्ने उनको भनाइ छ। नयाँ गठन हुन लागेको सरकारमा सबै अफगानिको प्रतिनिधित्व हुने पनि उनले जानकारी गराएका छन्। नागरिक दैनिकमा समाचार छ।
































