पर्यटन पुनरुत्थानको विशेष प्याकेज ल्याउन हानको माग
वि.सं.२०७८ भदौ १७ बिहीवार
shares
काठमाडौं । कोरोना महामारीका कारण पर्यटन क्षेत्र पूर्ण रूपमा प्रभावित भएको भन्दै पुनरुत्थानका लागि विशेष आर्थिक प्याकेज ल्याउन होटेल संघ नेपाल (हान) ले अर्थमन्त्रीसमक्ष माग गरेको छ ।
अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरी हान अध्यक्ष सृजना राणासहितको टोलीले होटेल क्षेत्रले भोगिरहेको समस्या र अति प्रभावित उद्योगको पुनरुत्थान गर्न प्याकेजको माग राखेको हो ।
अध्यक्ष राणाले कोभिड–१९ का कारण पर्यटन उद्योग विशेष गरी होटेल उद्योग नराम्रोसँग थला परी व्यवसायी पलायन हुन थालेकोतर्फ अर्थमन्त्रीको ध्यानाकर्षण गराइन् । होटेल उद्योगमा खर्बांै रुपैयाँको लगानी रहेको छ र लाखौंलाई रोजगारी उपलब्ध गराएको छ ।
राज्यको कानूनी दायराभित्र रहेर सञ्चालनमा रहेको यो उद्योगको संरक्षण तथा संवद्र्धन गर्नु राज्यको पनि दायित्व रहेकाले यसको संरक्षणमा ध्यान पुग्नुपर्ने उनको जोड थियो ।
आर्थिक वर्ष २०७८/७९ को बजेटले सम्बोधन गरेका विषयहरू साथै मौद्रिक नीतिले सम्बोधन गरेका योजनालाई यथाशक्य कार्यन्वयन हुनुपर्ने हानको माग छ । पर्यटन पुनरुत्थानका लागि विशेष आर्थिक योजना बनाई होटेल उद्योगलाई फरक समूहमा राखी कार्यान्वयन पक्षलाई जोड दिई नियमित अनुगमन संयन्त्रको विकास गरिनुपर्ने आवश्यकता रहेको राणाको भनाइ छ ।
भेटमा अर्थमन्त्री शर्माले कोभिडबाट पर्यटन तथा होटेल उद्योग अतिप्रभावित भई धान्नै नसक्ने अवस्थामा पुगेको आफूले महसूस गरेको र यस उद्योगको संरक्षण गर्न राज्यले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । हानले होटेल उद्योगलाई प्रदान गरेको उत्पादनमूलक उद्योगसरहको सुविधा प्रदान गर्नेगरी कार्यान्वयन गर्ने र औद्योगिक व्यवसाय ऐन २०७६ तथा आयकर ऐन २०५८ को (१९३) को परिभाषामा समेत राखी कार्यान्वयन गर्नुपर्ने, होटेल उद्योगलाई उत्पादनमूलक उद्योगसरहको विद्युत् महसुल दर कायम गरी उपलब्ध गराउनुपर्ने, होटेल उद्योगलाई उपलब्ध गराएको विद्युत् डिमान्ड शुल्क छूट अविलम्ब कार्यान्वयन गर्नुपर्ने, सामाजिक सुरक्षा कोषमा सरकारका तर्फबाट १ वर्षसम्म सहयोग दिनुपर्ने माग राखिएको छ ।
होटेलहरूका तर्फबाट सासु कोषमा निरन्तरता दिन नसकेको हुँदा सामाजिक सुरक्षा ऐन र नियमावलीमा संशोधन गरी योगदानकर्ताले समयमा योगदान नगरेकै कारण स्वास्थ्यलगायत आपत्कालीन सेवा लिनबाट वञ्चित नहुने व्यवस्था गरिदिनसमेत हानले सरकारसमक्ष माग राखेको छ । आर्थिक अभियानमा समाचार छ।































