सहकर्मीको हत्या गर्ने सैनिक जवानलाई जन्मकैद
वि.सं.२०७८ भदौ १८ शुक्रवार
shares
काठमाडौं । आफ्नै साथीको हत्या आरोपमा पक्राउ परेका सैनिक जवान गंगाधर ढकाललाई सैनिक अदालतले जन्मकैदको फैसला गरेको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले बिहीबार महेन्द्र दल गणमा कार्यरत सैनिक जवान ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको हो ।
उनलाई कर्तव्य ज्यान, बैंकिङ कसुर र हातहतियार खरखजाना मुद्दामा संलग्न भएको भन्दै सैनिक अदालतले भविष्यमा सरकारी सेवामासमेत अयोग्य ठहरिने गरी फैसला गरेको हो । नेपाली सेनाका सहायक रथीसमेत रहेका सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालले सैनिक अदालतले ढकाललाई २५ वर्ष कैद सजाय सुनाएको जानकारी दिए।
महेन्द्र दल गणमा नै कार्यरत आफ्नै साथी हुद्दा भरत गुरुङको हत्या गरेको भन्दै प्रहरीले उनलाई ७ साउनमा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । गुरुङको शव चितवनको भरतपुर महानगरपालिका–१७ सिमलडाँडा खेतको नहरमा भेटिएको थियो ।
प्रहरी अनुसन्धानले कालीबहादुर गणबाट चोरिएको सट मेसिन गन ‘एसएमजी’ प्रयोग गरेर गुरुङको हत्या गरिएको भनेको छ । सो हतियार चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालीबहादुर गणका अमल्दार लवकुमार गुरुङ र जवान सरोज तामाङबारे भने फैसला आउन बाँकी छ । राजधानी दैनिकमा समाचार छ।
































