किरणको कीर्तिमानमा नेपालको हार

9.7K
shares
Nabil bank

काठमाडौं ।कप्तान तथा गोलरक्षक किरण चेम्जोङले राष्ट्रिय टोलीबाट सार्वाधिक ‘क्याप’ (खेल) खेल्ने कीर्तिमान बनाएको खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा हार बेहोरेको छ । नेपाली टोलीको पुरानै रोग फिनिसिङमा चुक्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा नेपालले भारतसँग २–१ को हार बेहोरेको हो । नेपालले पहिलो हाफमै गोलको सुन्दर चार मौका गुमाएको थियो ।

पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो । खेलको १३औं मिनेटमा तेज तामाङको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट हुँदै आएको बलमा मनीष डाँगीले पेनाल्टी बक्समा सुवर्ण अवसर पाए पनि नियन्त्रणमा लिने क्रममा चिप्लिन पुग्दा डिफेन्डरले क्लियर गरिदिँदा नेपाल अग्रता लिनबाट चुकेको थियो । २२औं मिनेटमा पुजन उपकोटीको प्रहार अकासियो ।

लगत्तै २३औं मिनेटमा तेज तामाङले गोलरक्षक अमरिन्दर सिंह अघि बढेको मौकामा मैदानको मध्य भागबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा नेपालले अग्रता बढाउन सकेन । २५औं मिनेटमा क्रसबाट आएको बललाई अनिरुद्ध थापाले नभेट्दै गोलरक्षक तथा कप्तान किरण चेम्जोङले क्लियर गर्दै नेपालको संकट टारे । २८औं मिनेटमा आयुष घलानको क्रसलाई पेनाल्टी बक्समा आशीष लामाले हेडर प्रयास नभेट्दा नेपाल अग्रता लिनबाट चुक्यो । ४१औं मिनेटमा मनवीर सिंहको क्रसमा विपिन सिंह थोउनाओजमको हेडरलाई अनन्त तामाङ हेडरमार्फ क्लियर गरिदिए।

दोस्रो हाफको सुरुमै विशाल राईको फ्रिकिकलाई गोलरक्षक अमरिन्दर सिंहले सहजै नियन्त्रणमा लिए । ५३औं मिनेटमा चिङलेनसाना सिंह कोन्सामको क्रस पासलाई किरणले डाइभ दिँदै बचाउँदै नेपालको खतरा टारे । सब्सिच्युट फारुक हाजी कासम चौधरीले ६२औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाए । उनी दोस्रो हाफको सुरुमै मदान प्रवेश गरेका थिए । ६६औं मिनेटमा तेज तामाङको प्रहार फ्रेमबाहिर परे पनि अञ्जन विष्टले भेट्दै गरेको प्रहारलाई भारतीय गोलरक्षकले बचाउँदा नेपाल बराबरीबाट चुक्यो ।

६८औं मिनेटमा विशाल राई र नवयुग श्रेष्ठको समन्वयमा बनेको मुभमा नवयुग चुक्दा नेपालले खेललाई बराबरी गर्न सकेन । उनले पेनाल्टी बक्समा सुवर्ण अवसर चुकाएका थिए । ७४औं मिनेटमा मनीष डाँगीको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ८०औं मिनेटमा कप्तान सुनिल क्षत्रीले गोल गर्दै भारतको अग्रता दोब्बर पारे । काउन्टर अट्याकमा सुनिल क्षत्रीले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै गोलरक्षक किरण सहजै बिट गर्दै गोल गर्न सफल भएका थिए । ८७औं मिनेटमा तेज तामाङले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

उनले राष्ट्रिय टोलीबाट पहिलो गोल गरेका हुन् । साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो । नेपाली टोली साफ च्याम्पियनसिपको लागि शुक्रबार कतार प्रस्थान गर्दै छ । त्यसपछि नेपाल सिधै साफका लागि माल्दिभ्स पुग्नेछ । नेपालले डिफेन्डिङ च्याम्पियन रहेको आयोजक माल्दिभ्ससँग खेल्दै साफको सुरुवात गर्नेछ । राजधानी दैनिकमा समाचार छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x