धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना बर्खास्त

  • प्रकाशित मिति : २०७८ आश्विन १९, मंगलवार २०:३७
  • सिंहदरबार न्युज

काठमाडौं । सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद काण्डमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

सर्वोत्तम सिमेन्ट खरिद प्रकारणमा निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अर्थमन्त्रालयको सिफारिसमाढुंगानालाई मन्त्रिपरिषदले बर्खास्तीको निर्णय आज गरेको हो ।

ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेृयर खरिद प्रकरणमा मुछिएका थिए । बोर्डको अध्यक्षमा रहँदा उनले धितोपत्र बोर्डको आतारसंहिता विपरित उनकी छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको शेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

उक्त शेयर खरिद प्रकरणमा जोडिएका नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस अघि नै राजीनामा दिइसकेका छन् भने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि बोर्डको सञ्चालक समितिबाट राजीनामा दिइसकेका छन् ।