सिभिल सहकारी ठगी प्रकरण : सीआईबीको सम्पर्कमा आउँदै पीडितहरू

काठमाडौं । निक्षेपकर्ताको करोडौं रकम ठगी गरेको आरोपमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्वअध्यक्ष इच्छाराज तामाङसहितको १२ जनाको टोली पक्राउ परेपछि पीडितहरू सम्पर्कमा आउन थालेका छन् । उनीहरूलाई पक्राउ गरेपछि थप ११३ जना पीडित नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सम्पर्कमा आएका छन् ।

सीआईबीले ७७ जना पीडित निक्षेपकर्ताको जाहेरीका आधारमा गत सोमवार र मंगलवार सहकारीका पूर्वअध्यक्ष तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो । गत मंगलवार जिल्ला अदालत काठमाडौंले उनीहरूलाई ५ दिन हिरासतमा राख्ने अनुमति दिएको थियो । उनीहरूलाई अहिले हिरासतमा राखेर सीआईबीले अनुसन्धान गरिरहेको छ । यस क्रममा थप पीडितहरू थपिँदै आएको सीआईबीका प्रवक्ता श्यामकुमार महतोले बताए ।

‘उनीहरूलाई पक्राउ गरेपछि मंगलवार ६० र बुधवार ५३ जना पीडितहरूले जाहेरी दिइसकेका छन्,’ उनले भने, ‘बिहीवार घटस्थापनाको बिदाका कारण थप पीडितहरू आएका छैनन् ।’ पीडितहरू थपिएसँगै तामाङसहितको टोलीले गरेको ठगी रकम पनि बढेर करीब ८४ करोड पुगेको उनको भनाइ छ ।

मंगलवार १३७ पीडितको जाहेरीका आधारमा उनीहरूमाथि ७० करोड ८७ लाख १३ हजार रुपैयाँ गठी गरेको आरोप लगाइएको थियो । तर, अहिले त्यो बढेर करीब ८४ करोड रुपैयाँ पुगेको छ ।

उनीहरूलाई सहकारी ऐन तथा ठगीसम्बन्धी ऐनमा रहेर मुद्दा अगाडि बढाइएको छ । यस क्रममा सीआईबीले मंगलवार उनीहरूलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । निक्षेपकर्ताहरूको उजुरीका आधारमा सीईआईबीले पक्राउ गरेका तामाङ पूर्वसभासद पनि हुन् । साथै, उनी सिभिल बैंकका बहालवाला अध्यक्ष पनि रहेका छन् ।

यस कसुरमा संलग्न अन्य ११ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । यसमा सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठ पनि छन् । निक्षेपकर्ताले मुद्दती खातामा जम्मा गरेको रकम अवधि सकिएपछि झिक्न पटकपटक सहकारीमा पहल गरेका थिए । तर पनि सहकारीबाट पैसा फिर्ता नपाएपछि पीडित निक्षेपकर्ताहरू कानूनी प्रक्रियामा अगाडि बढेका हुन् ।

सीआईबीले अन्य पीडित निक्षेकर्तालाई पनि सम्पर्कमा आउन आग्रह गरेको छ । प्रारम्भिक अध्ययनले सिभिलमा करीब २ हजार २०० जना सक्रिय निक्षेपकर्ता छन् । तर, त्यसमा कति जना ठगिए भनेर यकिन भइसकेको छैन । तसर्थ, सबै पीडित निक्षेपकर्ता सम्पर्कमा आएर जाहेरी दिनुपर्ने प्रवक्ता महतोले बताए ।

यस घटनामा तामाङसहितको टोलीले योजनाबद्ध रूपमा उक्त रकम हिनामिना गरेको बताइएको छ । उनीहरूले सहकारी ऐन तथा नियमावलीले तोकेको क्षेत्रभन्दा बाहिर गएर निजी प्रयोजनका लागि उक्त रकम प्रयोग भएको बताइएको छ ।

सहकारीले गरेको विभिन्न क्षेत्रमा लगानीको प्रतिफल पनि नआएको बताइएको छ । ‘सहकारीले अरू विभिन्न संस्थामा लगानी गरेको थियो । तर, त्यसबापत सहकारीले पाउने प्रतिफल पनि प्राप्त नभएको जाहेरवालाहरूले बताएका छन्,’ सीआईबी प्रवक्ता महतोले भने, ‘त्यो रकम अन्त कतै लगेर हिनामिना गरिएको हुन सक्छ । तसर्थ यस विषयमा रहेर पनि अनुसन्धान गरिरहेका छौं ।’ आर्थिक अभियानमा समाचार छ।

Shangri-la Development Bank Ltd.
Nepali patro